काठमाडौं, १ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् ।
कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ ।
कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।
मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयन चरणमा रहेका उक्त योजनालाई ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ नाम दिइएको छ ।
गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित योजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायमा पत्राचार गर्दै निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले गरेको पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पत्राचार गर्दै निर्देशन दिइसकेको छ ।
कार्ययोजनामा कुन काम कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने तोकिएको छ । प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अन्य नगरपालिका तथा महानगरीय ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई कार्य योजनामा तोकिएको समयसीमाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया