शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दाउ हेर्दै ओली–दाहाल, नेकपामा ‘सन्नाटा’

दैनिक नेपाल २०७६ माघ १ गते ७:१२

काठमाडौं, १ माघ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्।

मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए। दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन्।

नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी)का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ। दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन।

संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ। तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन्।

दुवै अध्यक्ष दुई दिनयता एक–अर्काे अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन्। ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ।’

नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन्। दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर अन्नपूर्णसँग भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित