बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

दैनिक नेपाल २०७६ पुष २९ गते १६:०७

भद्रपुर,२९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।

झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए ।

शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले जानकारी दिए । पार्टी एकीकरणपछि बनेको नेकपामा दुई वर्षयता सदस्यको अद्यावधिक भएको थिएन ।

भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाई बताउछन् ।

जिल्लामा नेकपाका ३२ हजार आठ सय ५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार एक सय ९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार छ सय ५७ सदस्य नेकपामा समाहित भएका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित