शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रदेश २ मा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता

दैनिक नेपाल २०७६ पुष २९ गते ७:३६

धनुषा, २९ पुस । प्रदेश २ स्वास्थ्य निर्देशनालयमा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा औषधि खरिदमा भ्रष्टाचार भएको पाइएको हो ।

कार्यालय स्रोतका अनुसार औषधि तथा उपकरण खरिदमा ४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक मसान्तको अन्तमा मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा सार्वजनिक खरिद ऐन विपरित टेन्डर तथा कोटेशनमा विभिन्न फार्म तथा फार्मेसीबाट औषधि तथा उपकरण खरिद गरेको छ ।

जसमा गौतम फार्म काठमाण्डौबाट मात्र १० करोडको सर्जिकल सामान तथा निःशुल्क औषधि खरिद गरेको छ । त्यसभित्र निःशुल्क औषधि र केही उपकरणसमेत रहेको छ ।

तर कार्यालयले भने यस विषयमा जानकारी दिन इन्कार गरेको छ । कार्यालयले वितरण गरेको औषधिको जानकारी दिए पनि स्टोरमा कति औषधि छ भन्ने कुरा जानकारी गराउन मानेको छैन ।

यस्तै, नाम नखुलाइएको फार्मेसीबाट २ करोड २५ लाखमा ५ वटा उच्च गुणस्तरीय अल्ट्रासाउण्ड मेसिन लगायतको समान खरिद गरेको छ ।

गौतम फार्मबाट खरिद गरेको औषधि तथा उपकरणमा भने झण्डै ४ करोड रुपैयाँको कमिसन प्रदेश निर्देशनालय र समाजिक विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मले लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार औषधि आधा रकमको मात्र खरिद गरे पनि बिल भने १० करोड रुपैयाँको बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित