शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

दैनिक नेपाल २०७६ पुष २८ गते १५:०८

काठमाडाैं, २८ पुस ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ ।

चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियन निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भुइँ ढलानको काम २।५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।”

आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताउनुभयो । अहिले आयोजनाको समस्याका रूपमा सीएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आर्पूितकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ । मेलम्ची काठमाडौँमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित