बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

रामचन्द्रकाे गुटकाे बैठकमा डा.भीमार्जुन आचार्य, डा.काेइराला-सिटाैला अनुपस्थित

दैनिक नेपाल २०७६ पुष २८ गते १०:१३

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसमा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले वौद्धिक क्षेत्रका व्यक्तिहरूसँग परामर्श गरेका छन् ।

काठमाडौंको एउटा होटेलमा आइतबार पौडेलका साथै नेताद्वय प्रकाशमान सिंह र डा.रामशरण महतले वौद्धिक क्षेत्रका व्यक्तिहरूसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र गरेको एकलौटी निर्णयहरूका विषयमा राय सुझाव र परामर्श गरेका हुन् । बैठकमा महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरू अनुपस्थित रहेका थिए ।

रायसुझाव र परामर्श बैठकमा पौडेल समूहलाई पार्टीभित्रको विवाद सडकमा ल्याएर गल्ती गरेको भन्दै सहभागीहरूले शीर्ष नेताहरूले पार्टीभित्रको विवाद कोठाभित्रै बसेर मिलाउनुपर्ने सुझाव दिए । वीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका बेला पनि पार्टीमा विवाद देखिने गरेको भन्दै उनीहरूले आफै विवाद मिलाउने गरेको उदाहरण दिए ।

नेपाल प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनर सिंह केसीले पार्टीभित्रको आन्तरिक विवादमा आफूहरू सहभागी नहुने बताए । ‘वरिष्ठ नेता होस् वा सभापति होस् विधि र विधान विपरित जानु हुँदैन’, केसीले भने, ‘महासमितिको बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिले काट्नु हुँदैन थियो । त्यो काट्दा तपाईहरू पनि त्यही केन्द्रीय कार्यसमितिमा हुनुहुन्थ्यो । चुप लागेर बस्नुभयो’, उनले भने, ‘हिजो नै महामसमितिको निर्णय उल्टाउन खोज्दा बैठकमा बहिस्कार गर्न सक्नु भएको भए तपाईहरूप्रति सकारात्मक सन्देश जाने थियो । अहिले आफूलाई समस्या पर्दा बैठक बहिस्कार गर्नु उचित छैन ।’

‘पार्टीभित्रको आन्तरिक कलह भएकाले बाहिर सडकमा ल्याउनुभन्दा पनि आन्तरिक मतभेदहरू यसैगरी कोठामा शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका नेताहरू बसेर कुनकुन बुँदामा मतभेद थियो । त्यो मतभेद स्पष्ट पारेर जानुपर्ने थियो’, अध्यक्ष केसीले भने, ‘जनतामा निरासा छ । जनताको निरासालाई सम्बोधन गर्न कांग्रेसले जनतामा नयाँ कार्यक्रम लिएर जानुपर्छ ।’

‘जसरी गिरिजाप्रसाद कोइरालाले ०६४ मा नेपाली कांग्रेसले हार्दाहार्दै शेरबहादुर र रामचन्द्रलाई दायाँबायाँ राखेर जानुभयो । ०७० सालमा पार्टीले राम्रो फल पायो’, उनले भने, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि त्यसै गर्न सक्नुपर्ने थियो । गर्नुभएन ।’

‘यो मतभेदलाई साँघुरो बनाऔँ । हिजोका दिनमा वीपी, सुर्वण, गणेशमान, किसुनजी हुँदा पनि विवाद थियो । उनीहरूले समाधान आफै गर्थे’, उनले भने, ‘झगडा त्यहाँ पनि थियो । ०७, ०१५, ०३६ सालमा पनि थियो । त्यस बेला नेताहरूले आफै व्यवस्थापन गर्नु हुन्थ्यो । अहिले तपाईहरूको व्यवस्स्थापन हामीले गर्नुपर्ने भएको छ ।’

अध्यक्ष केसीले पौडेल समूहलाई ४०–६० को भागबण्डा गरेर विवाद मिलाउन सुझाव दिएका छन् । यसरी पार्टी चल्दैन ।’

वाइडबडी काण्डमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सडकमा आएर विरोध नगरेको भन्दै अध्यक्ष केसीले आक्रोश पोखरे । ‘लौडा काण्डमा गिरिजाप्रसाद चुकेका छन् वा छैनन् मलाई थाहा छैन । तर, लौडाकाण्डमा गिरिजाप्रसादलाई अख्तियारले समात्दा, सडकमा उभिदा हामी पछि लागको हौँ’, उनले भने, ‘तपाईहरूसँग किन त्यस्तो आँट छैन ? किन सडकमा आउन सक्नु हुन्न ?’

‘नेपाली कांग्रेस वाइडबडी काण्डमा सडकमा नआउँदा जनताले कांग्रेस पनि मिलेको छ भन्छन् । कालेकाले मिलेर खाऔँ भले भनेका छन्’, उनले भने, ‘सबै नेताहरूलाई त्यस्तै लाग्छ ।’

‘नेताहरू खुसी होलान् । तर, तपाईहरूसँग कार्यकर्ताहरू खुसी छैनन्’, उनले भने, ‘नेताको मुख हेरेर बोल्ने कुरा त्यागौँ । सत्यतथ्य कुरा बोल्नुपर्छ । नेताको चाकढी गर्नु हुँदैन ।’

राजनीतिक विश्लेषक प्रा.कृष्णप्रसाद खनालले नेपाली कांग्रेसका नेताहरूको व्यवहार नसुध्रिएको बताए । ‘वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस बिग्रनुमा मेरो दोष छैन । म त चोखो छु भनेर हुँदैन । माधवकुमार नेपालले भने जस्तो हुन्छ ?’, प्रा.खनालले भने, ‘तपाई वरिष्ठ नेता हुँ भन्ने कांग्रेसले गरेको निर्णयमा म चोखो छु भन्न मिल्दैन ।’

‘रामचन्द्रजी ईतिहास हो । तर, तपाई मात्रै चोखो हो भन्न सकिदैन’, उनले भने, ‘नेतृत्वमा बस्ने कांग्रेसको निर्णयमा मेरो संलग्नता छैन भन्न मिल्दैन ।’
खनालले नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै त्यस विषयमा नेपाली कांग्रेसले ध्यान दिनुपर्ने बताए ।

गुगलमा हेर्दा नेपाल कम्युनिस्ट मुलुक भनेर छैटौँ नम्बरमा देखिने गरेको भन्दै खनालले चिन्ता जनाएका छन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सहि रुपमा अगाडि बढाउन नसकेको उनले बताए । ‘मिडियामा दुई मिनट पनि कांग्रेसको नेतृत्व उभिन सक्दैन । पार्टी नेतृत्वले सात पटक ज्योतिषीले प्रधानमन्त्री बन्छ भन्छन । महाधिवेशन लम्बाइदिन्छु भन्ने’, खनालले भने, ‘कांग्रेसको अहिलेको अवस्थाले कांग्रेसले जित्न सक्दैन । मलाई सुध्रिएको कांग्रेस हेर्न मन छ । विभिन्न फ्याक्टरले गर्दा कांग्रेसको अर्को चुनावमा भाग्य आउला जस्तो छ ।’

संविधान विद् डा.भीमार्जुन आचार्यले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण जनतामा आशा र भरोसा रहेको बताए । उनले कांग्रेसभित्रका नेताहरूवीच देखिएको विवादले जनतालाई फेरि पनि निरासा बनाएको बताए । उनले न्यायालयमा सत्तारुढ नेकपाको प्रभाव परेको भन्दै स्वतन्त्र न्यायपालिकाका लागि कांग्रेसले आवाज उठाउनुपर्ने बताए ।

बैठकमा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाले आफूहरूलाई बाहिर राखेर बैठक बहिस्कार गर्ने अवस्थामा पुर्‍याएको बताए । उनले पार्टीभित्र निरंकुशता बनाएको भन्दै आफूहरूलाई सहयोग गर्न आग्रह गरे ।

पौडेल समूहसँगको छलफलमा प्रा.विश्वम्भर प्याकुरेल, फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, डा.लोकराज बराललगायत दुई दर्जन वौद्धिक क्षेत्रका बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित