४ कार्तिक २०८३, बुधबार

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २८ पुस । । जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरिसकेका छन्। चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन्।

चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दि नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ।

‘केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको पाइयो’, उक्त गुठीका उपाध्यक्ष दया खत्रीले भने, ‘फिर्ता ल्याउन मुद्दा प्रक्रियामा समेत गइएको छ।’सोही गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले पनि ठूलो मात्रामा जग्गा व्यक्तिले नामकरण गरिसकेको बताए। ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन्, धेरैपछि रहस्य थाहा हुन्छ’, उनले भने।

हिमाली जिल्लामा खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गा पनि बेहिसाब छ। कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर त्यस्तो जग्गा छ। त्यसको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ। धेरैले तिर्ने गरेका छैनन्।

जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ। धेरैले कम समयका लागि जग्गा भाडामा लिने धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ। कसैले स्थायी भौतिक संरचना बनाएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।