शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘राजीनामा दिन्नँ, बैठक चलाउँछु’

दैनिक नेपाल २०७६ पुष २७ गते ७:०२

काठमाडौं, २७ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।

रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।

‘म राजीनामा दिन्न, भोलि (आइतबार) को संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। ‘सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय भयो’, सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। यद्यपि, नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गरेको छैन।

प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा माग्ने र सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भने बैठकमा अनुपस्थित थिए। ‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि ! मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस्। म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए। शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो। दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ। पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन्। संसद्को बैठक आइतबार बोलाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित