शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तराई मधेसमा चीनको नयाँ कार्ड

दैनिक नेपाल २०७६ पुष २६ गते १०:०४

काठमाडौं, २६ पुस । नेपालमा चीनको राजनीतिक प्रभाव परेको भनेर आलोचना भइरहका बेला चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरूलाई भेट गरेर तराई मधेसमा प्रवेशको संकेत गरेका छन् ।

हुन त यसअघि चिनियाँ नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालालाई अलग अलग भेट गरिसकेका छन् ।

भेटमा चिनियाँ कम्युनिस्ट पार्टीले कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए । चिनियाँ प्रतिनिधिहरूसँग देउवा र डा.कोइरालाले गोप्य रुपमा भेटेको जानकारी बाहिर आएपछि कांग्रेसभित्र विरोध भएको थियो ।

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा पुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले तराई मधेसको समग्र विकासका लागि चिनियाँ सरकारले लगानी बढाउने प्रतिबद्धता जनाएका थिए ।

राजपा नेपालका संयोजक राजेन्द्र महतो र अध्यक्ष महन्थ ठाकुर तथा चिनियाँ कम्युनिस्ट पार्टीका एसिया ब्युरोका जनरल डाइरेक्टर मा सियु सङ तथा नेपाल–भारत विभागका निर्देशक च्याङ ज्यू क्विङ बीचको सामूहिक भेटवार्तामा उक्त प्रतिबद्धता जनाएको राजपाका एक नेताले बताएका छन् ।

राजपा नेपालका संयोजक राजेन्द्र महतोले नेपालको समग्र सन्तुलित विकासका बारेमा चिनियाँहरूको अलि बढी चासो देखिएको बताए । चिनियाँहरूले मधेसमा पनि थप लगानी बढाउने प्रतिबद्धता जनाएको उनले बताएका छन् ।

भेटमा वैदेशिक सहयोगसमेत सन्तुलित हुन नसकेको विषयमा राजपा नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच गम्भीर छलफल भएको थियो ।

चिनियाँहरूले पहाडमा मात्रै विकासमा जोड गर्दा सन्तुलित विकास हुन नसकेको गुनासो राजपा नेपालका अध्यक्षद्वय ठाकुर र महत्तोले गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेससहित तराई मधेस केन्द्रित दलसँग पार्टीगत तहमा सबन्ध गाँस्दै आएको चिनियाँ कम्युनिस्ट तराई मधेसमा आफ्नो प्रभाव जमाउन खोजेको छ ।

फ्रि तिब्बतको मुद्दामा राजपा नेपालले ‘एक चीन नीति’ मा विरोधाभाषपूर्ण दृष्टिकोण राखेको भन्दै चिनियाँहरूले बढी चासो देखाउँदै आएका छन् ।

मधेसमा चिनियाँ झन्डा जलाउनेदेखि राजपा नेपालका सांसदहरू फ्रि तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएको विषयलाई चिनियाँहरूले बढी चासो राख्दै आएका छन् ।

चिनियाँहरू विभिन्न च्यानलमार्फत चिनियाँ कम्युनिस्ट पार्टी राजपाका नेताहरूसँग निरन्तर सम्पर्कमा रहँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित