शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तपाई ‘हनि ट्रयाप’मा परिरहेको पनि हुन सक्छ है !

दैनिक नेपाल २०७६ पुष २४ गते १३:०१

काठमाडौं, २४ पुस । विवाहेत्तर सम्बन्धको सुरुआती चरणमा हुनुहुन्छ ? कोही युवा या युवतीले तपाईसँग चिनजान गरेको केही समयमा नै प्रेम सम्बन्ध कायम गरेका छन् ? तपाई उसको बारेमा पूरा जानकार हुनुहुन्न तर प्रेम सम्बन्ध मात्र हैन, शारिरीक सम्बन्ध कायम गर्न समेत पुग्नुभएको छ ?

राम्रो आम्दानी भएका, आर्थिक रुपमा सम्पन्न रहेका तर विवाह भएका पुरुष वा महिलासँग कसैले सम्बन्ध स्थापित गरिरहेको छ भने सावधानी अपनाउनुस् त्यो हनि ट्रयाप हुनसक्छ ।

अर्कोचाहिँ आर्थिक रुपमा सम्पन्न भएका तर विवाह नगरे पनि क्षणिक परिचयमा प्रेम सम्बन्ध र संगतमा हुनुहुन्छ भने त्यसमा पनि सावधानी अपनाउनुस् त्यो पनि ‘हनि ट्रयाप’ हुनसक्छ । आफ्ना नयाँ साथीसँगको सामिप्यता कायम गर्नका निम्ति, सम्बन्ध स्थापित गर्नका लागि उसको बारेमा सबै सत्य जानकारी राख्ने कोशिश गर्नैपर्छ ।

एउटा प्रेम सम्बन्ध स्थापित गर्न त आफ्नो जोडीका विषयमा सबै जानकारी राखिन्छ भने क्षणिक परिचयमा सम्बन्ध स्थापित गर्दा किन नराख्ने ?

नेपालमा हनि ट्रयापका कारण कतिपय व्यावसायीले ज्यान मात्र गुमाउन परेको छैन, आर्थिक बुझाउन पनि बाध्य हुनु परेको छ । नेपालका विभिन्न ठाउँमा यस्ता प्रकृतिका घटना भइसकेका छन् ।

केही उदाहरण यस्ता छन् ।

महानगरीय अपराध महाशाखाले १४ महिना अघिमात्र एक व्यवसायीलाई ब्ल्याकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । उनीहरू धरौटीमा रिहा भइसकेका छन् ।  गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरंग भिडियो बनाएर पैसा असुल्न खोजेका थिए ।

ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायी राम्रो जीउडाल भएकी, शारिरीक बनोट पनि राम्रो भएकी एक युवतीको प्रेमजालमा परे ।

इन्दिरा उप्रेती नामकी ति युवतीले फेसबुकमा निशा अधिकारीको नामबाट ती व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । युवतीको रिक्वेस्ट आउनासाथ उनले स्वीकार गरे, अनि सुरु भएको थियो कुराकानी । च्याट गर्दागर्दै युवतीले फोन नम्बर मागिन्, अफिसमा भेट्न पुगिन् । घर परिवारलाई छलेर अफिसमा ति व्यावसायीले युवतीलाई च्याम्बरमा बोलाउन थाले ।

‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी उनले वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् । त्यसअघि नै उनले त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्किन् ।

त्यसबेलासम्म व्यावसायी मख्ख थिए । तर जब उनलाई उक्त दृश्य आफूसँग रहेको भन्दै ‘गणेश लामा’ नाम बताएर अर्का व्यक्तिले फोन गरी रकम मागे, उनी झस्किए । त्यसैबेला प्रहरीमा उजुरी दिए । केही ढिलो गरेको भए रकम तिर्नुको विकल्प हुने थिएन ।

प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले बार्गेनिङ गरेका थिए । अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो । उप्रेती झापा र लामिछाने गोरखाका थिए ।

राष्ट्रिय सुरक्षा र गोपनियता चुहावटका लागि हनि ट्रयापको थालनी रुसले सुरु गरेको थियो । यो उसको राष्ट्रिय अनुसन्धानको एउटा पाटोका रुपमा स्थापित गर्न खोजे पनि विश्वमा यसले अपराधको चरणमा प्रवेश पायो ।

अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो । जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो ।

कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनि ट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ सृङ्खला बन्यो ।

यसको अर्को उदाहरण यस्तो पनि छ ।

०६७ सालमा प्रेमीका बनेर लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं र सोह्र खुट्टे प्रभागको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

प्रेमीका बन्ने सञ्चिता कार्की, नुवाकोट त्रिशुलीका नितेश गुरूङ, सोलुखुम्बुका पेम्बा शेर्पा, बौद्धका तेञ्जिङ लामा र क्षेत्रपाटीका राजन श्रेष्ठलाई पक्राउ गरियो । उनीहरूको समूहले लैनचौरमा कोहिटीका सुनिल तुलाधरलाई लुटेको थियो । क्षेत्रपाटीको रिक्रियसन फाइनान्सका सञ्चालक तुलाधर फायर क्लब ठमेलबाट फर्किर्ने क्रममा सञ्जिता कार्कीले लैनचौरसम्म छाड्न लिफ्ट मागेकी थिईन् । राती साढे १० बजे लिफ्ट दिएर लैनचौर चोकमा आइपुग्दा तुलाधरलाई पेस्तोल देखाएर मोटरसाइकल सहित लुटेका थिए ।

तुलाधरले युवती देख्नासाथ क्षणिक मौकामा फाइदा उठाउन सकिन्छ कि भन्ने ठानेका थिए । तर उनी आफैं फँसे । पक्राउ परेकी कार्कीले धेरै सुन लगाएको देखेपछि साथीहरू मिलेर लुटेको बयान दिएकी थिइन् । उनीहरूले लामो समयदेखि उनलाई निगरानीमा राखेको र सञ्चिताले एकाध पटक प्रेमको नाटक पनि गरेकी थिइन् ।

प्रहरी अधिकारीहरूका अनुसार हनि ट्रयापमा पार्ने युवक या युवती सुन्दर हुन्छन् । उनीहरू कुनै न कुनै आपराधिक समूहको योजनामा परिचालित भएका हुन्छन् जसको ध्येय मनग्य सम्पत्ती भएको परिवारलाई नाटकीय ढंगले लुट्नु, ब्ल्याकमेल गर्नु हुन्छ ।

यस्ता घटनालाई व्याख्या गर्दा दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या प्रकरण प्रमुख उदाहरण हुनसक्छ । श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगर अहिले कारागारमा छिन् ।

अनुसन्धानपछि खुल्यो पुजासँगको प्रेमका कारण श्रेष्ठको हत्या भएको थियो । दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो ।

अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो । पुजासँग श्रेष्ठको प्रेम यति गहिरो थियो कि अपहरण गर्दा पनि उनकै गाडीको प्रयोग गरियो । पुजालाई उनले गाडीमा राखेर घुमाउने क्रममा अपहरण भयो र त्यसपछि हत्या ।

‘यो पनि हनि ट्रयापको एउटा सृङ्खला मान्न सकिने घटना हो । लामो समयसम्म दुवैको सम्बन्ध रहेको पनि खुलेको थियो’, तत्कालिन अनुसन्धान अधिकारी तथा हाल प्रहरी बरिष्ठ उपरिक्ष धीरजप्रताप सिंह सम्झन्छन्,‘लामो समय लगाएर घटनाको सबै विवरण उतार्न सफल भएका थियौं ।’

इन्टरनेटको सहज सुविधा रहेका कारण यस्ता घटनामा आजभोली सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि फँसाउने गरिएका धेरै उदाहरण छन् ।

त्यसमध्येको एउटा हो, गोरखा स्थायी घर भएका ३१ वर्षीय शक्तिमान विकको कथा । कतारमै काम गर्दै गरेका विक सामाजिक सञ्जाल फेसबुकमा अभ्यस्त हुँदा पिया थापासँग नजिकिए । नेपालमै रहेकी पियासँग सामाजिक सञ्जालमा चिनजान नभएको भए सायद उनी तत्काल नेपाल आउदैनथे । अनलाइन च्याटमै उनलाई पियाले ‘नेपाल आउ, बिहे गरेर यतै बसौँला, यतै काम गरौँला’ भनिन् । शक्तिमान पियाको मिठो बोलीमा फसे । अन्ततः पियासँग घरजम गरी बस्ने मिठो सपना बोकेर शक्तिमान २०७२ माघमा कतारबाट नेपाल आए ।

उनीहरूबीच फेसबुकमा फोटो मात्र आदान–प्रदान भएको थियो । शक्तिमान काठमाडौं आएर पियालाई खोज्न थाले । तरसजिलै भेट्न पाएनन् । केही दिनपछि उनै पियाले केही युवकहरू परिचालन गरी उनलाई अपहरण गर्न लगाइन् । अपहरण गरी शक्तिमानसँग भएको धनमाल सबै लुट्न लगाइन् ।

लुटिएपछि विकले महानगरीय अपराध महाशाखामा उजुरी दिए । सोही उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनीहरूको खोजी गरेको थियो । प्रहरीले पिया र ललितपुर इमाडोलका उनका वास्तविक प्रेमी सन्तोष घिमिरेलाई पक्राउ गरेको थियो । उनीले १४ फागुन २०७२ मा विकलाई कोटेश्वरबाट अपहरण गरी लुटेको स्वीकार गरे ।

विकको साथमा रहेको ५७ हजार नगद, दुईवटा सामसुङ मोबाइल, एटिएम कार्ड लगायतका धनमाल लुटेको उनीहरूले स्वीकार गरे । जसमध्ये २५ हजार नगद भने बरामद भएको थियो ।

जुनसुकै पेशा वा व्यावसायमा अभ्यस्त भएका मानिसलाई प्रेमको पासोमा अल्झाएर लुटपाट गर्ने नियत राखेका कयन समूह र व्यक्ति हुन सक्ने भएकाले सजग नहुँदा हनि ट्रयापमा पर्न सकिने सुरक्षा अधिकारीहरू बताउँछन् । उनीहरूले सम्बन्ध स्थापित गर्दा ध्यान नदिए पछि पछुताउन बाध्य हुनुपर्ने जोखिमबाट जोगिन सुझाव पनि दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित