शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फौजदारी ‘अपराध’ गर्नेलाई एआईजी पद पुरस्कार ! अख्तियारमा उजुरी

दैनिक नेपाल २०७६ पुष २३ गते १२:४४

काठमाडौं, २३ पुस । नेपाल प्रहरी अस्पतालको प्रमुखका लागि डा. आशा सिंहलाई एआईजी पदमा बढुवा सिफारिस गरी फौजदारी संहिताविरुद्धको निर्णय गरिएको छ ।

एआईजी पद पाउने प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर हुन्छ । प्राविधिक समूहतर्फ यो सबैभन्दा उच्च ओहदा हो । डा. सिंहले झूठा विवरण र बयानका आधारमा बढुवा सिफारिसमा आफूलाई पारेकी हुन् ।

उनले यस्तो सिफारिसका लागि मुख्य दुई गलत विवरण सरकारका उच्च अधिकारीलाई ब्रिफिङ गरिन् । पहिलो, उनी संयुक्त राष्ट्र संघको मिसनमा गएको भन्ने र अर्को गोरखा दक्षिण बाहु पाएको भन्ने । यी दुवै विषयमा प्रहरीको कार्य सम्पादन मुल्यांकनमा नम्बर जोडिने गर्छ ।

यसैलाई आधार बनाएर जोडिएको नम्बरको बलमा उनले अस्पतालका निमित्त प्रमुख डिआईजी मिनराज पाठकलाई पछि पार्दै एआईजी सिफारिस पाइन् । जबकि, डिआईजीसम्म डा. पाठक नै एक नम्बरमा थिए ।

उच्च स्रोतका अनुसार डा. सिंह प्रहरीको रेकर्डमा कहिल्यै पनि संयुक्त राष्ट्र संघको मिसनमा पुगेको जानकारी छैन भने गोरखा दक्षिण बाहु पाएको भन्ने विवरण कहिँ भेटिँदैन ।

उनले संयुक्त राष्ट्र संघको मेडल लगाएको बर्दीसहितको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यतिमात्र होइन, समुदाय प्रहरी साझेदारीका औपचारिक कार्यक्रममा उनले उक्त मेडल लगाएर भाषण गरेका कतिपय भिडियो अहिले पनि युट्युवलगायतका विभिन्न संग्रहमा पनि उपलब्ध छन् ।

‘उच्च ओहदाको अधिकारीले गरेको यस्तो हर्कतलाई फौजदारी कानुन उल्लंघन गरेको नजिरमा हेर्नुपर्छ, सरकारको सुरक्षामामिलाको जिम्मेवार गृह मन्त्रालयले उनको बढुवा सिफारिस कसरी गर्न सक्छ ?’, कानुनविद् भन्छन् ।

यस्तो कसुरमा मुलुकी अपराध फौजदारी संहिता अनुसार एक बर्ष देखि दुई बर्षसम्म कैद तथा ५० हजार देखि एक लाखसम्म जरिवाना हुन सक्छ ।

हेर्नुहोस् संहितामा रहेको व्यवस्थाको यो प्रतिलिपि ।

गृहसचिव प्रेमकुमार राई अध्यक्ष तथा प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल सदस्यसचिव भएको बढुवा समितिको सिफारिसमा उनी एआईजीका लागि योग्य ठानिएको निर्णय सार्वजनिक भएको थियो ।

यहि आधार पारेर उनको बढुवा सिफारिसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । त्यसअघि नै आफूलाई अन्याय परेको भन्दै डिआईजी पाठकले लोक सेवा आयोगमा मुल्यांकनको हिसाबमा हेर्नका लागि उजुरी दिएका थिए ।

युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने पदक सिंहले लगाएकी छि । सरकारले प्रदान गर्ने पदक पाएबापत प्रहरी नियमावलीमा २ नम्बर पाउने व्यवस्था भएकाले सो पदकको पनि नम्बर जोडिएको सो उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित