४ कार्तिक २०८३, बुधबार

कौडीमा दिएपछि लुकाउने खेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ पुस । सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ।

ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो।

ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ। ट्रस्टले २०७५ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा थामसेर्कुलाई जग्गा भाडामा दिएको विषय उल्लेख गरेको छैन। यती समूहलाई नाममात्रको प्रतिस्पर्धा गराएर कौडीको भाउमा ताहाचलको जग्गा लिजमा दिएका कारण यो विषयलाई ढाकछोप गर्न खोजिएको ट्रस्टका उच्च अधिकारीहरु बताउँछन्।

‘प्रतिस्पर्धा भएको देखाउन नाममात्रका दुईवटा कम्पनीबीच प्रतिस्पर्धा गराएर यतीलाई सस्तोमा जग्गा भाडामा दिएका कारण यो विषयलाई लुकाउन खोजिएको हो,’ ट्रस्टका ती अधिकारीले नागरिकसँग भने, ‘त्यही कारण यो कुरा वार्षिक प्रतिवेदनमा आउन सकेन।’

नागरिकको जिज्ञासामा ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले थामसेर्कुलाई ताहाचलको जग्गा भाडामा दिने निर्णय २०७४ माघमा नै भएको पुष्टि गरे।

‘ताहाचलको जग्गा ३० वर्षका लागि थामसेर्कुलाई १८ करोडमा भाडामा दिइएको छ,’ ठाकुरले भने, ‘यो भाडा दिने सम्झौता २०७४ माघमा भएको देखिन्छ।’ ठाकुरले आफू आउनुभन्दा पहिले भएको सम्झौताको सबै विषय थाहा नभएको बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।