शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्नीलाई खुकुरी हानेर हत्या प्रयास

दैनिक नेपाल २०७६ पुष २३ गते ६:४६

सप्तरी, २३ पुस । नागरिकता बनाई दिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिन्छस् भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उनको टाउको र घाँटीमा ३६ वटा टाँका लगाइएको छ । अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थप उपचारका लागि रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोदकुमार यादवले जानकारी दिए ।

लक्ष्मीको जिउभरसमेत निलडाम देखिएको छ । खुकुरी प्रहारबाट लक्ष्मी खेतमै ढलेपछि मरेको ठानेर महीनारायणले नजिकैको नहरमा खुकुरी फाली फरार भएका थिए । पूर्वप्रहरी समेत रहेका लक्ष्मीका पति महीनारायणले केही महिनाअघि मात्र दोस्रो विवाह गरका थिए ।

लक्ष्मीसँग विवाह भएको १० वर्षबढी भइसक्दा पनि नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि सशंकित बनेकी लक्ष्मीले पटकपटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन् ।

यसबारे गाउँमा पटकपटक बसेको पञ्चायतमा महीनारायणले लक्ष्मीको नागरिकता बनाइदिने कबोल गरे पनि आलटाल गर्दै आएको स्थानीयले बताए । सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरिरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित