शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

निर्णय सच्याउन देउवा तयार

दैनिक नेपाल २०७६ पुष २३ गते ६:४३

काठमाडौं, २३ पुस । असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् ।

गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् ।

असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका छन् । सोमबारबाट सुरु सभापतिको भेला मंगलबारसमेत सकिएको छैन ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए ।

‘महधिवेशनको विषय सबैले उठाएकै विषय हो, केन्द्रीय समितिबाट छलफल गरौं भनेकै हो । उहाँहरू बैठकमै आउनुभएन,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने, ‘अझै पनि महाधिवेशनको कार्यतालिकाका विषयमा केही हेरफेर गर्न सभापति तयार हुनुहुन्छ ।’

सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए । तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए ।

‘उहाँहरूलाई मनाउन घर घर गएकै हो, आउनुभएन । अझै पनि कहाँ जानुपर्ने हो, जान तयार नै हो, बैठकमा आएर छलफल गर्नुप¥यो,’ महतले थपे ।

सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् ।
एक नेताले भने, ‘सबै विषय टुंगिन्छ, भागबन्डामा कुरा नमिलेको हो, विभागमा पनि कुरा मिल्छ, नेविसंघ तरुण दलमा पनि समस्या छैन ।’

कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण बुधबारसमेत निरन्तर बैठक चल्ने जानकारी दिए ।
सोमबार १४ जना र मंगलबार १६ जना गरी मंगलबार साँझसम्म ३० जिल्लाका सभापतिहरूले धारणा राखेको उनले जानकारी दिए ।

भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले केन्द्रीय तहबाट बहुमत र अल्पमतका आधारमा हुन्े निर्णयप्रति असन्तुष्टि जनाएको नुवाकोट सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।

उनले पार्टीलाई भागबन्डाबाट चलाइँदा विधि र विधान नै संकटमा परेको र त्यसको असर तल्लो तहसम्म परेको भन्दै भागबन्डाका विषयमा समेत जिल्ला सभापतिहरूले असन्तुष्टि व्यक्त गरेको जनाए ।

केही सभापतिले भने सहमतिबाट पार्टीलाई अघि बढाउँदा निरंकुश सरकारसँग समेत लड्न सकिने भन्दै नेताहरूलाई एक भएर अघि बढ्न सुझाएका छन् । भेला बुधबार (आज) सकिने बताइएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित