बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आयातमा कडाइ

दैनिक नेपाल २०७६ पुष २३ गते ६:३८

काठमाडौं, २३ पुस । सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ। व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट (चलानी) बाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ। एउटा चलानीबाट धेरै किसिमका सामान आयात गर्दा व्यापारमा विचलन बढेको निष्कर्षअनुसार सरकारले यस्तो व्यवस्था लागू गरेको हो।

सरकारले राजपत्रमा प्रकाशन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ। एउटै कन्साइनमेन्टमा धेरै वस्तु ल्याउँदा आयातित वस्तुको यथार्थ मूल्यांकनमा समस्या हुने गरेको भन्सार विभागका अधिकारी बताउँछन्।

अघिल्लो साता राजस्व सचिव शिशिर ढुंगानाको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसहितको बैठकले गठन गरेको कार्यदलले एउटा कन्साइनमेन्टबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन सुझावसहितको प्रतिवेदन दिएको थियो।

खासगरी खाद्य सामग्री र लत्ताकपडामा यस्तो समस्या देखिने गरेको छ। एउटा कन्साइन्मेन्टमा धेरै थरी वस्तु ल्याउँदा परिमाण मापन गरी वस्तुको मूल्यांकनमा समस्या हुने गरेको छ।

कात्तिक १९ मा राजस्व अनुसन्धान विभागले थानकोटमा रेफ्रिजरेटेड दुईवटा ट्रकमा छड्के जाँच ग¥यो। ट्रकमा आलु चिप्स, हरियो केराउ, बिफसमेत फेला परेको थियो। आलु चिप्स र हरियो केराउको भन्सार फरकफरक छ। यसरी धेरै वस्तु एउटै कन्साइनमेन्टमार्फत ल्याउँदा अवैध सामानसमेत लुकाएर ल्याउने गरेको पाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित