शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपा हाइकमान्डको निर्देशन : जसरी पनि हेटौंडा

दैनिक नेपाल २०७६ पुष २३ गते ६:३२

काठमाडौं, २३ पुस । सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटाैंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटाैंडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।

पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागाइँ, राजेन्द्र पाण्डेलगायत थिए।

पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २८८(२) मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था छ। यो निर्णय लिन प्रदेश ३ मा ७४ मत भए पुग्छ। नेकपा एक्लैको त्यहाँ दुई तिहाइ मत (८० सिट) छ।

नाम र राजधानी नटुंग्गिएका अन्य प्रदेशका विषयमा केही निर्णय नलिने तर प्रदेश ३ को मात्र नाम र राजधानीमा निर्देशन जारी गर्नु, प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु र बहुमत सांसद विपक्षमा रहँदारहँदै पनि केन्द्रले निर्णय लाद्न खोजेको आरोप लगाउँदै निर्णय नमान्ने चेतावनी प्रदेश सांसदहरुले दिएपछि पार्टी ‘हाइकमान्ड’ ले प्रदेश जिम्मेवारीमा रहेका नेताहरूलाई बालुवाटारमा बोलाई पुनः निर्देशन गरेका हुन्। तीन दिनसम्म चलेको नेकपा प्रदेश संसदीय दलको बैठक केन्द्रको निर्णय मान्ने÷नमान्नेमा अनिर्णीत थियो। बहुमत सदस्यले निर्णय नमान्ने बताएपछि नेकपा नेतृत्व दबाबमा थियो।

‘सामान्य वडाको कार्यालय वरपर गर्दा त नयाँनयाँ समस्या आइलाग्छ। हेटौंडामा प्रदेशको अस्थायी राजधानी भनेर गइहाल्यो। अब सार्दा अरू समस्या आउँछन्। राजधानी बनाउने भएपछि काठमाडौं खाल्टो मात्र होइन, अलिक पर होस् भन्ने पनि हुनुपर्छ। टाढा भयो होला, एउटा भूगोलका कारणले तर पनि अब यो पार्टीको निर्णय हो। जसरी पनि मानेरै जानुहोस,’ प्रधानमन्त्रीको निर्देशन उधृत गर्दै प्रदेश सभा सदस्य पशुपति चौलागाइँले भने।

प्रधानमन्त्री ओलीले आवश्यकता, औचित्य, संघीयताको मर्म, जनसंख्याको अवस्था, तराई र पहाड जोड्ने सामारिक महत्वको क्षेत्र र नयाँ ठाउँ विशेषले पनि राजधानी हेटौंडाबाहेक अन्यत्र सोच्नै नसकिने बताएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित