शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक महिनामै दैनिक उपभोग्य सामानको भाउ ह्वात्तै बढ्याे

दैनिक नेपाल २०७६ पुष २२ गते ७:४०

काठमाडाैं, २२ पुस । पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ अकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ ।

एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार संघका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २ सय रुपियाँसम्म महँगो भएको छ तर सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।

सङ्घका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच रुपियाँ र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजीमा २ सय रुपियाँसम्म बढेको छ ।

मासको दाल प्रतिकेजी १४० बाट बढेर १६० रुपियाँमा कारोबार भइरहेको छ । यस्तै मुसुरो दाल प्रतिकेजी १ सय रुपियाँबाट १३० रुपियाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० रुपियाँबाट बढेर १६५ रुपियाँ पुगेको छ ।

सो अवधिमा मुग गेडा प्रतिकेजीमा १४० रुपियाँबाट १६० रुपियाँ, मुगको छाटा प्रतिकेजी १४० रुपियाँबाट १९० रुपियाँमा कारोबार भइरहेको छ भने मुगको खोस्टा (ठूलो) प्रतिकेजी १३० रुपियाँबाट बढेर १७० रुपियाँ पुगेको छ ।

यस्तै चामलमा प्रतिकेजी पाँचदेखि १० रुपियाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ रुपियाँबाट बढेर ८५ रुपियाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा बोडी प्रतिकेजी ९५ रुपियाँबाट बढेर १३० रुपियाँसम्म बढेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपियाँ बढेको छ ।

चिनीमा प्रतिकेजी प्रतिकेजी ८० रुपियाँबाट बढेर ८५ रुपियाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटर १० देखि ५० रुपियाँसम्म बढेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन गर्ने जिम्मा पाएका निकायको अनुगमन खाली औपचारिकतामा मात्रै सीमित भएका कारण आमउपभोक्ता महँगीको मारमा पर्ने गरेको आरोप लगाए ।

दैनिक उपभोग्य वस्तुको मूल्य विश्लेषण गर्ने सरकारको संयन्त्र नबन्दा बजारमा उत्पादन उद्योग र व्यापारीको मनोमानी बढेको पनि उनको भनाइ छ । गाेरखा पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित