४ कार्तिक २०८३, बुधबार

बाहिनीपतिहरूलाई आईजीपी खनालको कडा चेतावनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिए कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले मातहतका कुनै पनि सशस्त्र प्रहरी कर्मचारीबाट नीतिविपरीतका कार्य एवं लोभलालचामा परेर कुनै क्रियाकलाप भए ऊसँगै उसको कमान्डरमाथि समेत ‘एक्सन’ लिइने चेतावनी दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनबाट नेपाल सरकार तथा गृह मन्त्रालयबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयमा ‘भिडियो कन्फरेन्स’ मार्फत मातहत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन एवं चेतावनी दिएका हुन् ।

‘आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तपाईंहरूले नियन्त्रणमा राख्दै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तिमा क्रियाशील रहनुहोला,’ बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कतैबाट कुनै अवाञ्छित कार्य हुन पुगे प्रचलित कानुनबमोजिम नियन्त्रण गर्नुस्, हेडक्वार्टर सधैं तपाईंहरूको साथमा रहनेछ ।’

सशस्त्र प्रहरी बल जनचाहनाअनुरूपको कार्यशैली अपनाउँदै नागरिकले महसुस गर्ने ढंगले दायित्व निर्वाहमा सक्रिय रहेको स्पष्ट पार्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलको कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्नेबारे संगठनले लिखित एवं मौखिक आदेशमार्फत स्पष्ट परिसकेकाले परिणाममुखी कार्यसम्पादनमा दत्तचित्त भएर लाग्नसमेत निर्देशन दिए । ‘हेडक्वार्टरले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाहीबारे समेत अनुगमन गरिरहेको’ स्पष्ट पार्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘त्यस्तो पाइएमा तपाईंहरूमाथि समेत हेडक्वार्टरले एक्सन लिन्छ ।’

सशस्त्रमा सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठ जना बाहिनीपति छन् । संगठनका विभिन्न युनिटले उत्कृष्ट कार्यसम्पादन गरिरहेकैबीच यदाकदा सशस्त्र प्रहरी कर्मचारीको कार्यशैलीलाई लिएर गुनासासमेत प्राप्त भएकोतर्फ ध्यानाकर्षण गराउँँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनै गुनासो नहुने गरी जनचाहनाअनुरूपको कार्यशैली अपनाई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरी बलको कामकारबाही सम्पादनका क्रममा द्विविधारहित ढंगले परिचालित रही संगठनलाई प्राप्त जिम्मेवारी इमानदारितापूर्वक व्यावासायिक भई कुशलतासाथ निर्वाह गर्न तथा परिणाममुखी कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्ने कुरा संगठनले आदेश एवं परिपत्रका माध्यमबाट विगतमा स्पष्ट पारिसकेको स्मरण गराउँँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिइएको दायित्व निर्वाहको क्रममा नागरिकले महसुस गर्ने ढंगले उत्कृष्ट कार्यसम्पादन गर्न तथा सीमा अपराध नियन्त्रण, सीमा सुरक्षा, सीमाको उचित व्यवस्थापनलगायत विविध विषयमा सधैं उच्च मनोबलसाथ क्रियाशील रहन निर्देशन दिए । उनले अझै पनि सुधार गर्नुपर्ने केही विषय रहेको बताउँदै संगठनले भ्रष्टाचार तथा मानवअधिकार हनन एवं लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाइसाथ कार्यान्वयन गरिरहेको उल्लेख गरे । राजधानी दैनिकले खबर छापेकाे छ ।