शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

देउवा फकाउँदै दाहाल

दैनिक नेपाल २०७६ पुष २२ गते ७:०२

काठमाडौं, २२ पुस । सत्यनिरूपण र बेपत्ता छानबिन आयोग गठन विवाद सल्टाउन शीर्ष नेताहरू फेरि जुटेका छन्।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको १३ वर्ष पुग्दा पनि यी दुई कामको टुंगो लागेको छैन। राजनीतिक सहमति नजुट्दा र स्वार्थ हावी हुँदा यसअघि दुवै आयोगले काम गर्न नसकी समय गुजारेका थिए। आयोग गठनका लागि फेरि राजनीतिक सहमतिको प्रयास जारी छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार यस विषयमा छलफल भएको छ। आयोग गठनको विषय छिटो टुंग्याउने सन्देशसहित दाहाल पार्टी महासचिव विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए।

‘अब शान्ति प्रक्रियाका बाँकी काममा अलमल नगरौं। छिटो एउटा निष्कर्षमा पुगौं भन्ने विषयमा हामी देउवाजीलाई भेट्न पुगेका हौं’, महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘छलफल सकारात्मक भएको छ। छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी ओलीसहित दाहाल र देउवाबीच छलफल गरी सहमति जुटाउने सन्देश बोकेर दाहालले देउवासँग भेट गरेका हुन्। ‘अब बालुवाटारमा मंगलबार छलफल हुने कुरा छ।

सत्यनिरूपणको विषय छिट्टै टुंग्याउन पार्टी सभापतिले आग्रह गर्नुभएकै छ’, देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘आयोग पदाधिकारी र सदस्यको नामका सवालमा सभापतिले गणेशदत्त भट्टको नाम अगाडि सार्नुभएको छ। अब सदस्यहरूमा छिटो सहमति जुटाऔं भन्ने उहाँ (शेरबहादुर देउवा)को आग्रह छ।’

महासचिव पौडेलका अनुसार मंगलबार सकभर ओली, दाहाल र देउवासहितका नेताहरूको बैठक बसेर सहमतिको प्रयास गरिनेछ। दुवै आयोगमा पदाधिकारी र सदस्य सिफारिसका लागि सरकारले गठन गरेको सिफारिस समितिको बैठक बुधबार बस्दै छ।

दलहरूबीच सहमति जुटे समितिले पदाधिकारी तथा सदस्यहरूको नाम सिफारिस बुधबारकै बैठकबाट गर्ने तयारी छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित