बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

७ विश्वविद्यालय अस्तव्यस्त : कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीन

दैनिक नेपाल २०७६ पुष २० गते ७:३४

काठमाडाैं, २० पुस । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए ।

ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ ।

तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो । त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए ।

ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए । ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो ।

त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो । उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन् । रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित