बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चिसाेले जनजीवन कष्टकर

दैनिक नेपाल २०७६ पुष २० गते ७:१०

काठमाडौं, २० पुस । तीन दिनयता पटक–पटक भएको हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण ती क्षेत्रमा यातायात सेवा र विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ।

अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन्। हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्। केही रउसे हिउँ खेल्न, हिउँसँग सेल्फी हान्न तराईदेखि पहाड उक्लेका छन्। हिमाली तथा उच्चपहाडी क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न सुरु भएको हो।

ओखलढुंगा संवाददाता शेरबहादुर जेरोका अनुसार हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा–काठमाडौं चल्ने यातायात अवरुद्ध भएको छ। शुक्रबार साँझबाट परेको हिमपातले यातायात अवरुद्ध भएको हो। सोलुखुम्बुबाट ओखलढुंगा हुँदै काठमाडौं जाने कुनै पनि सवारी चल्न नसकेको सिद्धिचरण नगरपालिका–६ ठाडेका मेखबहादुर मगरले जानकारी दिए।

सोलुखुम्बुको पत्ताले, ओखलढुंगाको धाप, ठाडे, टोड्के, देउरालीसम्म सडकमा बाक्लो हिउँ जमेको मगरको भनाइ छ। सडकमा जमेको हिउँ पन्छाई सडक पुनः सञ्चालन गर्न एस्काभेटर पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बेलीडाँडा र ओखलढुंगाबाट सोलुखुम्बुका लागि बिहान छुटेका सवारीसाधन बिब्ल्याँटे र चित्रेमा रोकिएका छन्।

सडकमा जमेको हिउँ चाँडै पन्छाई सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझदेखि आधा रातसम्म वर्षासँगै हिमपात भयो। खिजिदेम्बा गाउँपालिकाको पत्ताले, रावादोलु, भुसिंगा, खिजिफँलाटे बजार चल्ले सवारीसाधनसमेत हिमपातका कारण अवरुद्ध भएको खिजिदेम्बाका कमलप्रसाद न्यौपानेले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित