शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रियसभा सांसदको उम्मेदवारी दर्ता आज, ३ बजेसम्मको समय निर्धारण

दैनिक नेपाल २०७६ पुष २० गते ७:०९

काठमाडौं, २० पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवारी दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ ।

सात प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

राष्ट्रियसभामा रिक्त १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । राष्ट्रपतिबाट मनोनीत हुने एक पद भने पछि सरकारको सिफारिसमा मनोनीत गरिनेछ ।

सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेसले आ–आफ्ना दलका उम्मेदवार तोकिसकेका छन् । नेकपाले २ नम्बर प्रदेशमा राजपासँग तालमेल गरेको छ ।

कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेर उम्मेदवार सार्वजनिक गरेको छ । राजपा र समाजवादी पार्टीले २ नम्बर प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तोकेका छन् । राष्ट्रियसभा निर्वाचनका मतदाता निश्चित रहेकाले सत्तासीन नेकपाका उम्मेदवारले जित्ने निश्चित जस्तै छ ।

राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो । तर यसपटक प्रत्येक प्रदेशबाट (क्लष्टर)मा एक एकजना मात्र निर्वाचित हुने हुँदा यस पटकको निर्वाचन प्रत्यक्ष जस्तै हुनेछ ।

२ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहमत छ । २ नम्बर प्रदेशमा पनि नेकपाले राजपासँग तालमेल गरेर बहमत सुनिश्चित गरेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन् । ३ जना सांसद भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।

स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ ।

राष्ट्रियसभा सांसदको म्याद सकिन ३५ दिन अगावै निर्वाचन गर्नपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो ।

नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा)को कार्यकाल समाप्त हुन लागेको हो ।

राष्ट्रियसभा सांसदको निर्वाचनका मतदाता हुन, प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिकाका)का प्रमुख र उपप्रमुख। ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हन् । तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।

प्रतिक्रिया
सम्बन्धित