बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजेट जति सडकमा, असन्तुलित विकास

दैनिक नेपाल २०७६ पुष २० गते ७:००

नेपालगन्ज, २० पुस । नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। यो बजेट हेर्दा विकास भनेकै सडक निर्माण भन्ने आभास हुन्छ ।

६६ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण सम्पन्न हुँदै छ। पीपीसी सडक ४० किलोमिटरभन्दा बढी बनेको छ। माटो पटान, इँटा सोलिङ र ग्राभेल सडक २० किलोमिटर बनेको छ। सबै गरी नेपालगन्जमा एक सय २६ किलोमिटरभन्दा बढी बाटो बनिसकेको छ ।

नेपालगन्जमा दुई वर्षमा सडकमा छुट्ट्याइएको रकम विकट नरैनापुर गाउँपालिकाको सात आर्थिक वर्षको कुल बजेटभन्दा बढी हो। गाउँपालिकाको चालु वर्षको बजेट ४३ करोड छ ।

एसियाली विकास बैंकले एकीकृत सहरी विकास आयोजना सामुदायिक विकास कार्यक्रमको साना भौतिक पूर्वाधार निर्माणअन्तर्गत उपमहानगरमा सात करोड ११ लाख ७२ हजार रुपैयाँमा ८७ वटा बाटो (१० किलोमिटर) पीपीसी गरेको थियो।

आयोजनाका इन्जिनियर मदन झा भन्छन्, ‘दसैंपछि ८४ वटा पीपीसीका लागि बजेट आयो। अक्टोबरमा प्रक्रिया सुरु गरेर हामी डेढ महिनामै काम सम्पन्न गर्न सफल भयौं। बजेट बचेकाले तीनवटा योजना थपिए ।’

एडीबीले नेपालगन्जमा दुई वर्षमा कम्तीमा साढे दुई लाख रुपैयाँदेखि बढीमा १० लाख रुपैयाँ लागतमा एक सय १६ वटा सडक पीपीसी गरिसकेको छ। जुन १४ किलोमिटर हुन आउँछ। अघिल्लो वर्ष झन्डै तीन करोड रुपैयाँ लागतमा २९ वटा सडक (साढे तीन किलोमिटर) पीपीसी गरेको थियो ।

एडीबीले नेपालगन्जमा एक अर्ब ७३ करोड रुपैयाँ सडकमा लगानी गरेको छ। एक अर्र्ब ६३ करोड रुपैयाँमा ३६ किलोमिटर सडक कालोपत्रे र पक्की नाली बनाउने काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका साइट इन्जिनियर शैलेन्द्र महर्जन भन्छन्, ‘अबको चार वर्षमा नेपालगन्जमा कालोेपत्रे गर्ने सडक भेटिने छैन ।’

आयोजनाले थप नौ किलोमिटर सडक कालोपत्रेका लागि एडीबीसँग माग गरेको छ। नगरमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गरिरहेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित