बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मनाङ र मुस्ताङमा दुई दिनदेखि लगातार हिउँ

दैनिक नेपाल २०७६ पुष १९ गते ७:१६

काठमाडाैं, १९ पुस । दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ।

गाेरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कष्टकर बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुई फिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले जनाएको छ।

मनाङका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बिहीबार दिनभर हिउँ परेर बेलुकी रोकिएको थियो। शुक्रबार बिहानबाट पुन हिमपात सुरु भएको सापकोटाले बताए।

तापक्रम माइनस ९ डिग्रीमा झरेको र त्यसले जनजीवन प्रभावित बनाएको उनले बताए। सापकोटाले भने, ‘चिसो अधिक भएकोले जनजीवन पूर्णतया प्रभावित भएको छ।’

उनका अनुसार स्थानीय जाडो छल्न जिल्लाबाट बाहिरिएपछि सुनसान छ। केही पसले, कर्मचारी र होटलका कामदार तथा एकाध घरका कुरुवाबाहेक गाउँमा समेत मान्छे नभएको उनले बताए।

उनका अनुसार बिहीबारसम्म गाडी चलेपनि शुक्रबार धारापानीभन्दा अगाडि गाडी उक्लिन सकेका छैनन्। धारापानीबाट गाडीमा सदरमुकाम चामे पुग्न एक घण्टा समय लाग्छ।

सापकोटाका अनुसार माथिल्लो क्षेत्र झनै हिउँले प्रभावित भएको छ। माथिल्लो मनाङ, हुम्दे क्षेत्रमा झनै बाक्लो हिमपात भएको उनले बताए। उनका अनुसार चिसोका कारण धारामा पानीसमेत जमेको छ। खोलाको पानी समेत जम्न थालेको सापकोटाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित