शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इलियटका गुप्त प्रेम–पत्र

दैनिक नेपाल २०७६ पुष १९ गते ७:०८

न्युयोर्क, १९ पुस । नोबेल साहित्य विजेता टीएस इलियटले भनेका थिए, ‘जेलाई हामी सुरुआत भन्छौं, त्यही अन्त्य हो। समाप्ति त्यहाँ छ, जहाँबाट हामी सुरु गर्छौं।’ उनको ‘प्रेम’ को रहस्य भने ठीक उल्टो रहेछ। जीवन अन्त्यको ५५ वर्षपछि बल्ल त्यो खुलेको छ। अर्थात्, प्रेमिका एमिली हेललाई उनले लेखेका १ हजार १ सय ३१ प्रेमपत्र बाहिरिएका छन्।

इलियटको निधन सन् १९६५ मा भएको थियो, हेलको १९६९ मा। आखिर के हो त त्यो प्रेमको रहस्य, जुन निधनको आधा शताब्दीपछि बल्ल देखा पर्‍यो ? एमिलीले आफूलाई इलियटले लेखेका ती सबै प्रेमपत्र सन् १९५६ मा प्रिङ्सटन युनिभर्सिटी लाइब्रेरीलाई उपहार दिइन्।

विश्वविख्यात कविका रहस्यमयी प्रेमपत्र कुनै विश्वविद्यालयका लागि ठूलो सम्पत्ति नहुने कुरै भएन। प्रिङ्सटनले सहर्ष स्वीकार्यो। तर, एमिलीले एउटा सर्त राखेकी थिइन्– ‘इलियट र ममध्ये जो ढिला बित्छौं त्यसको कम्तीमा ५० वर्षसम्म यसको सिलबन्दी नखोल्नु होला।’

लाइब्रेरीले त्यसै गर्‍यो। एमिलीको निधनको ५० वर्ष सन् २०१९ अक्टोबरमा पुग्यो। तर, १९७१ मा लाइब्रेरीले निर्णय गरेको थियो, ‘पत्रहरू २०२० जनवरी २ मा मात्र खोलिनेछ।’ लाइब्रेरियनलाई पहिला अध्ययनका लागि समय दिन उसले केही महिना राखेको हो। ती पत्र अझै एमिलीले हालेकै खाममा छन्।

हुन पनि रातो रिबनले बाँधेका खामका चाङ युनिभर्सिटीले सुरक्षित ढंगले नछोई ६० वर्षभन्दा लामो समयसम्म जोगायो। र, बल्ल बिहीबार तिनलाई खोलेको छ। ‘सन् १९३० देखि १९५६ भित्रका पत्रहरू, जुन संसारकै गुप्त विख्यात साहित्य सम्पदा हुन्’, प्रिङ्सटन युनिभर्सिटी लाइब्रेरीले पत्र खोल्ने क्रममा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो साहित्यिक अनुरागी र अनुसन्धाताका लागि ठूलो उत्सवको क्षण हो।’

अमेरिकाकै बोस्टनमा जन्मेकी एमिली वक्तृत्व र नाटककी शिक्षक थिइन्। नायिका र नाटक निर्देशकसमेत भइन्। इलियटसँग उनको पहिलो भेट सन् १९१२ मा भएको थियो। फेरि ३० को दशकमा जोडिएका उनीहरूको लामो पत्राचार भएको थियो। त्यो परिवार, आफन्त र साथीसङ्गी कसैलाई थाहा थिएन। खोलिएका पत्रमा के–के लेखिएका छन्, सार्वजनिक गरिएको छैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित