बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईजी खनाल कार्यकाल : पूर्वाद्धमा काम, उत्तरार्धमा सम्मान

दैनिक नेपाल २०७६ पुष १८ गते १०:२५

काठमाडौं, १८ पुस । नियमित प्रक्रियाअनुसार करिब डेढ महिनापछि नेपाल प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको कार्यकाल सकिँदैछ । सरकारले चाहेको खण्डमा प्रहरी ऐन संशोधनसहित पारित गरे कार्यकाल लम्बिन पनि सक्नेछ ।

२८ माघमा उनको कार्यकालको नियमति अवधि सकिनेछ ।

२७ चैत ०७४ मा आईजीमा नियुक्त भएका खनालको कार्यकालको पूर्वाद्धमा भताभुङ्ग रहेको संगठनलाई लयमा ल्याउने र शान्ति सुरक्षाको गति दिने काममा बित्यो ।

प्रहरी नियमावलीमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा आईजी पदमा नियुक्त गर्न सकिने उल्लेख छ । जुन खनालको कार्यकालका उत्तरार्धतिर आइपुग्दा पूरा भएको अनुभूति धेरैले गरेका छन् ।

उनको कार्यकाल अघिका आईजी प्रकाश अर्यालको नियुक्ति भने विवादीत बनेको थियो । खासगरी आईजी नियुक्तिका क्रममा तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकारले तेस्रो बरियताका डिआईजी जयबहादुर चन्दलाई केही घन्टाका लागि नियुक्त गरेको थियो ।

यो विवाद लामो समयसम्म लम्बिनुको एउटा कारण सर्वोच्च अदालतले दिएको आदेश पनि थियो । केही समय भने प्रहरी संगठन प्राविधिक तिरका एआईजीको निमित्त नेतृत्वमा चलेको थियो । जसको काम संगठन चलाउनु हुने नै थिएन ।

अर्यालको कार्यकाल त्यति लामो समय नभएका कारण उनले संगठनलाई लयमा ल्याउन सफलता पाएनन् । बरु, केही विवादीत छवि बनाएर सकियो । सोही बेलासम्म प्रहरी कर्मचारीको गिरेको मोरल, रोकिएका बढुवा र सरुवालगायतका काम सक्नु थियो ।

के–के भए काम ?

खनाल आईजीमा नियुक्त हुनासाथ संगठनलाई चलायमान बनाए र प्रहरी कर्मचारीको मनोबलमा बृद्धि भयो । प्रहरीको बजेटमा रहेको बेरुजु फस्र्यौटमा पनि खनालको नेतृत्व सफल हुँदा अघिल्लो बर्ष गृह मन्त्रालयबाट पुरस्कृत भएका थिए ।

त्यस्तै खाली रहेका प्रहरी दरबन्दीमा भर्तीदेखि अड्किएका बढुवा र पोस्टिङका काममा खनालले गति दिए । भर्खरै संघीय संरचनाअनुसार प्रहरीको नियमावलीको मस्यौदादेखिका अनेक काममा खनालको पूर्वाद्धको कार्यकाल सफल भएको बताइन्छ ।

प्रादेशिक ढाँचामा मुलुकले आकार लिँदा प्रहरीका ७ प्रदेश कार्यालय, प्रदेश प्रहरीको जिम्मेवारी र नियमावलीलगायतका विषयमा पनि खनाल नेतृत्वमा सफल काम भएको थियो ।

‘मुलुक नयाँ संरचनामा स्थापित हुँदै गर्दा प्रहरीका संरचनामा पनि ध्यान दिनुपर्ने चुनौतिसँगै खनाल आईजी भएका थिए, त्यो काममा उनी सफल भएको देखिन्छ’, एक पूर्वएआईजी भन्छन्,‘संगठन भित्रका कुरा र नयाँ कार्यक्रम पनि आएको देखियो । एकाध घटनाको अनुसन्धान प्रक्रियामा प्रश्न उठे पनि समग्रतामा उनी सफल आईजी हुन् ।’

अपराध अनुसन्धान र कारबाहीको प्रक्रियामा खनालको कार्यकाल सफल भयो । बित्तिय क्षेत्रका अपराध नियन्त्रण, अप्रेशन, सामाजिक अपराध नियन्त्रणलगायतका विषयमा सफल काम भएको बताइन्छ । ‘निर्मला पन्त प्रकरणको अनुसन्धानमा सफलता नपाएको भन्ने एकथरी धारणा छ तर त्यसको अनुसन्धान प्रक्रियामा पनि आईजी खनालले गहिरो चासो दिएकै छन्’, एक पूर्वडिआईजी भन्छन् ।

त्यसो सकेसम्म आफ्नो कार्यकालमा नै पन्तको अनुसन्धान सक्ने अठोट लिएका थिए खनालले । एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा उनले भनेका थिए,‘अनुसन्धानको प्रक्रिया चलिरहेको हुन्छ । जारी छ यसको परिणाम म हुँदा नै आउन सक्छ । या मेरो कार्यकालपछि पनि आउन सक्छ ।’

खनाल आफैंले थालेको प्रहरीको नयाँ अभियानमा भने उनी सन्तुष्ट पनि देखिए । साईबर अपराधका लागि ब्युरो, मानव बेचबिखन नियन्त्रण व्युरो उनले स्थापित गरेका थिए । यी दुबै व्युरोबाट उल्लेख्या परिणाममा काम भएको देखिन्छ ।

‘अहिलेको अवस्थामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रणमा प्रहरीको सक्रियता बलियो देखिन्छ’, केही महिनाअघि उनले दैनिक नेपालसँग भनेका थिए,‘यसमा पाएको सफलतालाई जनतामा राम्रोसँग प्रचार गरिनुपर्छ ताकि अन्य पीडित प्रहरीको सहयोगका लागि आउन सकून् ।’

समुदाय–प्रहरी साझेदारी आईजी खनालको प्रभावकारी कामका रुपमा देखियो । हरेक विट र जिल्लामा यो कार्यक्रमको प्रभावकारीता बढ्यो, प्रहरीसँग जनताको सिधा र सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक अपराध न्युनिकरण र सूचनामा सर्वसाधारणको पहुँच भयो । कार्यक्रम हरेक जिल्लामा चलिरहेको छ ।

विवादमा तान्नका लागि केही इन्काउन्टरका विषयमा निक्कै चर्चा भए पनि खनालको कार्यकालको गतिलो कामचाहिँ प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको नेकपाको गतिविधिमा नियन्त्रण ल्याउनु । जिल्ला जिल्लाबाट आपराधिक गतिविधिमा संलग्न रहेका विप्लव कार्यकर्ता पक्राउ गरी कारबाहीको प्रक्रियामा प्रहरीले ल्यायो, जसले सरकारको लक्ष्यमा बाधा पुगेन ।

अवार्ड र सम्मान

आईजी खनालको नेतृत्वको प्रहरीले कुशलताका साथ काम गरेका कारण नै उनले कार्यकालमा मध्यदेखि अनेक प्रकारका अवार्ड र सम्मान पाए । अन्तर्राष्ट्रिय स्तरको अवार्ड, आईसीटि अवार्डलगायत विभिन्न ठाउँमा उनको कार्यकौशलताका लागि सम्मान गरिएको थियो ।

सरकारको गृह मन्त्रालयले दुई पटक उनलाई पुरस्कृत ग¥यो । यस्तै, १८ बर्षपछि नेपालमा साउथ एसीयन गेम्स (साफ)को सुरक्षामा उनको नेतृत्वले काम गरेका कारण आयोजकले सम्मान प्रकट गरेको थियो । यी विविध परिणामले आईजी खनालको कार्यकाल चुनौति चिर्दै सुखद रहेको प्रहरी अधिकारीहरूको विश्लेषण छ ।

प्रतिक्रिया
सम्बन्धित