बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ट्राफिक लाइट सञ्चालनलगायतका यस्ता छन् काठमाडौं महानगरका अल्पकालिन कार्ययोजना

दैनिक नेपाल २०७६ पुष १७ गते ११:५९

काठमाडौं, १७ पुस । ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौं महानगरपालिकाले ट्राफिक लाइट सञ्चालनमा ल्याउने भएको छ ।

ट्राफिक महाशाखासँगको समन्वयमा बानेश्वर, सिंहरदरबार, गौशाला, माहाराजगञ्जलगायतका ठाउँमा ट्राफिक लाइट राखिने भएको हो । महानगर क्षेत्रभित्रका खाल्टाखुल्टी सडक विभाग र सम्वन्धित निकायसँग छलफल गरेर जतिसक्दो छिटो पुर्न पनि महानगर अग्रसर देखिएको छ ।

सडक विभागको समवन्यमा चैत भित्रमा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बाँयातिरको खाली ठाँउमा सर्भिस लेन बिस्तार गर्ने, सडक विभागको समवन्यमा कालीमाटी मुनीको दुबैतर्फको अण्डरपास बैशाख भित्रमा व्यवस्थित गर्नेलगायत अल्पकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।

नेपाल आयल निगम र सडक विभागसँग समन्वय गरेर सवारी आगमनलाई बाधा पर्ने किसिमले सञ्चालनमा रहेका पेट्रोलपम्पहरु स्थानान्तरण गर्ने, पिक एण्ड ड्रपलाई थप व्यवस्थित गर्ने, माघ भित्रमा सडक विभागसँगको समन्वयमा जेव्राक्रस थप गर्ने, ट्राफिक संकेत मर्मत गर्ने,  सिसि टिभिलाई थप व्यवस्थित गर्ने, गुठी संस्थानलगायतसँगको समन्वयमा सडक आसपासका खाली जग्गाहरु भाडामा लिई पार्किङका लागि उपयोग गर्ने जस्ता विषयमा पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

फागुन भित्रमा सम्वन्धित निकायसँग समन्वय गरेर महानगर क्षेत्र भित्र यात्रु चढ्ने र ओराल्ने स्थानमा प्रतिक्षालयसहित बस पकेटहरु बनाउने, फुटपाथ व्यवस्थित गर्ने जस्ता कुरामा पनि महानगरपालिकाको जिम्मेवारीमा परेका छन् ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको बैठकमा उठेका बिषय र महानगरको नेतृत्वमा सम्पादन हुनुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

‘जुन काम जुन बिभागसँग सम्बन्धित छ, उही बिभागका प्रमुखले जिम्मेवारी लिनोस् । यदि तपाई काम गर्न सक्नुहुन्न भने अहिल्यै भन्नोस,’ उनले भने,‘गर्न नसक्ने काम भए अहिले नै जिम्मा लिन सक्दिन भन्नोस् । नियमित कामको जिम्मेवारी छोडेर होइन, त्यसलाई जोडेर तपाईले काम गर्नुपर्छ ।’

कार्ययोजनामा बिहान साढे आठसम्ममा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन गन्तव्यमा पु¥याइसक्नु पर्ने, सडकबाट निर्माणजन्य सामाग्री हटाउनु पर्ने, पैदल मार्गमा भएको अतिक्रमण हटाउनु पर्ने जस्ता काम महानगरको जिम्मेवारीमा परेका छन् ।

मोटरसाइकल र मोटरबाट हुने ¥यालीलाई निरुत्साहित गर्ने काम पनि महानगरले गर्नु पर्ने कामको सूचीमा छन् । सौर्य बत्तीले सडकमा आवश्यक पर्ने उज्यालो प्राप्त नभएकोले सौर्यबत्तीको सट्टा मास लाइट जडान गर्ने काम पनि महानगरको भागमा छ ।

पोर्टेबल आकाशे पुल बनाउने, सम्भव हुने सडक किनारामा पार्किङ् बक्स बनाउने जस्ता काम सम्बन्धित कार्यालयसँगको सहकार्यमा महानगरले गर्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित