शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कांग्रेसमा देउवाले सुरु गरेको ‘तानाशाही’ युग

दैनिक नेपाल २०७६ पुष १७ गते ९:५८

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जीवनमा तानाशाही युगको सुरुआत गरेको आरोप लागेको छ ।

यो आरोप उनीइतरको समूहको नेतृृत्व गरिरहेका रामचन्द्र पौडेललगायतले लगाएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेल समूहको उपस्थिति नहुँदा नहुँदै विभिन्न महत्वपूर्ण निर्णय गरिएको र त्यहि लागू हुने अठोट देउवाले देखाएपछि आरोप स्वभाविक हिसाबले लगाउन थालिएको छ ।

महासमितिमा अल्पमतमा रहे पनि केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले प्रजातान्त्रिक प्रणालीको हवाला दिँदै आफूखुसी निर्णय गराउनुलाई कतिपय कार्यकर्ताले पनि तानाशाही प्रवित्ति भनेका छन् । त्यसैले उनीइतरका नेता र समूहले अलग बैठक डाकी केही महत्वपूर्ण निर्णय गर्ने तयारीले कांग्रेसको आन्तरिक जीवनमा ठूलै धक्का लाग्ने देखिन्छ ।

मध्य धारमा देखिएका तर १३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापतिका लागि देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौलाले पत्र लेखेरै सहमतिका आधारमा पार्टीका राजनीतिक निर्णय लिनका लागि सुझाव दिएका थिए । तर, देउवाले त्यसो गर्न मानेनन् । बरु, बुधबार बिराटनगरमा ओर्लेपछि आफूले गरेको निर्णयमा थप बल दिँदै भनिदिए,‘पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

देउवाले के–के गरे ?

अर्को कार्यकालमा पनि सभापति बन्ने अभिलाषा राखेका ७७ बर्षिय देउवाले पार्टीका विभाग २७ बाट ४७, तरुण दलको अवधि ६ महिना थप्ने, आगामी बर्षको फागुनमा मात्रै महाधिवेशन गर्ने निर्णय गरेर जंगबहादुर राणाको शैली अपनाएको कांग्रेस नेताले नै आरोप लगाउन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता भएका नाताले सरकारलाई विधि विधान र संविधानका दायरा सिकाउनेले आन्तरिक पार्टी निर्णयमा तानाशाही व्यवाहार देखाएको भन्दै उनको आलोचना पदाधिकारी, बरिष्ठ नेतालगायतबाट नै हुन थालेको छ । महामन्त्री डा. शशांक कोइरालाले त अब देउवाको नेतृत्व फेरि आए कांग्रेस समाप्त हुनसक्नेसम्मको चेतावनी दिएका छन् ।

यति मात्र होइन, कांग्रेसको जीवन बचाउन पनि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने उनले जिकीर गरिसकेका छन् ।

यसै साता केन्द्रीय समितिको बैठक डाकी देउवाले मनलाग्दी निर्णय गराइछाडे, जसमा रामचन्द्र पौडेललगायतका नेताको सहभागीता नै थिएन । सहमतिका आधारमा हुनुपर्ने निर्णय बहुमतका आधारमा गरेर पार्टीजीवन नै ध्वस्त बनाएको नेताहरूको कथन छ ।

कतिपय ठाउँमा तत्कालिन माओवादीसँग सहकार्य गरेको, महाअभियोगलगायतका मुढे बलका काम गरेर कांग्रेसलाई जनतामा अलोकप्रिय बनाएको आरोप खेपीरहेका उनले पार्टी सत्तामा बसेर पदको दुरुपयोग गरेको आरोप खेपिरहेका छन् ।

‘जंगबहादुरका पालामा पनि यतिसम्मको अराजकता र मनलाग्दी काम भएको थिएन होला, जुन सभापतिले गरिरहेका छन् । सहमतिका आधारमा नै बहुमत र अल्पमतको निर्णय हुने गर्छ । एउटा तप्का बैठकमा सहभागी नभएको मौकामा मनलाग्दी निर्णय भयो’, एक केन्द्रीय सदस्य भन्छन्,‘भ्रातृ संगठनदेखि अनेक संस्थालाई ध्वस्त पारेपछि पार्टीलाई पनि खरानी बनाउने व्यवाहार उत्रिएको प्रस्ट देखियो ।’

त्यसो त नेपाल विद्यार्थी संघका लागि पारित गरिएको विधान मिचेरै नेतृत्व ५० कटेकालाई दिन लागेको भनी विरोध भएको थियो । जहाँ कार्यकर्तालाई अपशव्द नै बोलेर देउवाले गाली गरेका थिए । त्यसबेला पनि उनको चर्को आलोचना भएको थियो । यति मात्र होइन, देउवाको चरित्रलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले व्यंग्यात्मक रुपमा कुरा नै नबुझिनेसम्म भनेकी थिइन् ।

‘उहाँको कार्यशैली प्रधानमन्त्री हुँदा होस् वा सभापति हुँदा एउटै खालको देखिएको छ । हिजोको दिनमा जस्तै अहिले पनि पदको दुरुपयोग गरी मनपरी निर्णय लिन थाल्नु भयो’, कांग्रेस उच्च स्रोतले भन्यो,‘बुढानिलकण्ठलाई मुकाम बनाएर कांग्रेसलाई एक्लौटी ढंगले चलाउने कोशिश भएको छ यो मान्य हुँदैन ।’

देउवाको पछिल्लो निर्णयको विरोधमा नेता रामचन्द्र पौडेलले तल्ला तहसम्म नै पार्टीमा भण्डाफोर गर्दै हिँड्ने बताइसकेका छन् । यहाँसम्मकी पत्रकार सम्मेलन गरेरै आफ्ना सभापतिविरुद्ध पौडेलले आक्रोश व्यक्त गरेका थिए ।

देउवाका यस्तो हर्कतका विषयमा भने कांग्रेसमा उदाइरहेको कृष्णप्रसाद सिटौलाको समूह भने मौन रहेको छ । देउवाविरुद्ध पौडेलसहित महामन्त्री कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमानसिंहलगायतको ठूलो खेमा लागेको छ ।

‘हिजोका दिनमा कोइराला परिवारले देउवालाई जसरी पेलेको थियो, उनीहरूले पनि पेलिनुपर्दाको पीडा खेपीरहेका छन्’, स्रोतले भन्यो,‘गिरीजाप्रसाद कोइरालालेचाहिँ विधि र विधान मिचेर जे गर्दा नि ठिक थियो, अहिले देउवाले गर्दाचाहिँ गलत भयो ?’

यति मात्र होइन केन्द्रीय समितिका बैठकमा पनि कतिपयको भनाभन नै हुने गरेको थियो । यहि क्रममा महासमिति सदस्यहरूको भेला गरी महाधिवेशनलगायतका विषयमा निर्णय भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित