इटहरी, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ।
‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका आधारमा केही निर्णय गरेको हो,’ सभापति देउवाले मेलमिलाप दिवसका अवसरमा बुधबार सुुनसरीको इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बाध्यताले बहुमतले केही निर्णय गर्नुपरेको हो।’
देउवाले पार्टीभित्र जतिसुकै राम्रो काम गर्दा पनि पौडेल पक्षले जस नदिएको गुनासो गरे। ‘मलाई पौडेल पक्षबाट जहिल्यै पेल्ने काममात्र भएको छ,’ उनले भने, ‘म पार्टीभित्रका विवाद मिलाउने पक्षमा छु तर पौडेल पक्ष वार्ता र सहमतिमा नआउँदा मलाई दिक्क लागेको छ।’
देउवाले एक अर्को प्रसंगमा सत्तारूढ दल नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्नु लाजमर्दो भएको बताए। ‘सत्तासीन नेकपाले सभामुख र उपसभामुख टुंगो नलगाउँदा संसद् नै बन्धक भएको छ,’ उनले भने। देउवाले ओली सरकार अहिलेसम्मकै नालायक भएको टिप्पणी पनि गरे।
स्थानीय नेताहरूका अनुसार सुनसरीमा कांंग्रेस बलियो हुँदै गए पनि अन्यत्र आन्तरिक विवादले संगठन अस्तव्यस्त बनेको छ। पार्टीभित्रको मेलमिलाप हेर्न शीर्ष नेतालाई सुनसरी आउन यहाँका नेता–कार्यकर्ताले चुलो निम्तो दिएका छन्।
मिलमिलाप दिवस कार्यक्रममा सुनसरीका नेता–कार्यकर्ताले कांग्रेस गुटउपगुटले शिथिल भएको र शीर्ष नेताहरूले गुटगत स्वार्थभन्दा माथि उठेर आआफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै आन्तरिक मेलमिलाप हेर्न यहाँ आउन निम्तो दिएका हुन्। कांग्रेस नेता तथा कोसी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले केन्द्रदेखि गाउँसम्म पार्टीभित्रको गुट अन्त्य भएमात्र मिलमिलाप दिवसको अर्थ रहने बताए।
सबै अगुवा नेता गुटगत स्वार्थभन्दा माथि उठेर कार्यकर्तालाई एकढिक्का बनाउन लाग्नुपर्ने उनले बताए। कार्यक्रममा धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा कांग्रेस मिलेकै कारण जित हासिल भएकाले यसबाट शिक्षा लिन शीर्ष नेतृत्वलाई सुझाव दिइयो। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया