बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

घोराहीमा डरधम्की देखाइ १३ लाख फिरौती माग्ने पक्राउ

दैनिक नेपाल २०७६ पुष १७ गते ७:२०

घोराही, १७ पुस । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक जना व्यक्तिलाई डरधम्की दिँदै १३ लाख फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन् ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई प्रहरीले कटुवा पेस्तोलसहित फिरौतीको रकम बुझ्दैगर्दा बुधबार पक्राउ गरेको हो ।

दमाईले एक साता अगाडिदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ वीपी चोकका एक जना ४८ वर्षीय व्यक्तिलाई डर त्रास देखाउँदै १३ लाख फिरौती रकम माग्दै आएका थिए ।

पीडित व्यक्तिले सो कुरा दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईलाई जानकारी दिएका छन ।

प्रहरीको योजना अनुसार सम्बन्धित व्यक्तिले बुधबार बेलुका पहिलोपटक तीन लाख रुपियाँ दिने भन्दै नक्कली पैसाको गड्डी तयार पारेर फिरौती माग्दै आएका रोल्पाका दमाईलाई बोलाए ।

त्यही तीन लाख नक्कली रकमको गड्डी फिरौती बुझ्दै गर्दा जिल्ला प्रहरीको विषेश टोलीले दमाईलाई बेलुका घोराहीबाट पक्राउ गरेको छ ।

दमाईको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लोड गरिएको एक थान गोली तथा उनले प्रयोग गरेको एउटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित