काठमाडौं, १७ पुस । सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।
बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए ।
सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।
हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् । खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने गर्थ्याे ।
तर अब यो च्याप्टर बन्द भएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।
सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई दरबन्दी थपेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन संगठनले धेरै प्रयास गरेको थियो । सो प्रयास असफल भएपछि डीआईजीको कार्यकाल एक वर्ष थप्न लविङसमेत भएको थियो ।
सशस्त्र प्रहरी बलमा ६ ओटा एआईजी दरबन्दी रहेकोमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच ओटा थपेर ११ पु¥याएको थियो । हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो । त्यसबेला तत्काललाई तीन जना एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो ।
तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो । तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो ।
सशस्त्रको वर्तमान नेतृत्वले सीमा सुरक्षाको विषय जटिल बन्दै गएपछि सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न सरकारसँग मागसमेत गरेको थियो । यसअघि सीमा सुरक्षा विभागमा एआईजीकै दरबन्दी थियो ।
वर्तमान सरकारले एआईजीको संख्या घटाउँदा यो विभागलाई कार्यविभागमा गाभ्दै सीमा निर्देशनालय बनाएको थियो । यसरी दरबन्दी थप्ने र घटाउने चलखेलको मारमा बुधबार अवकाश पाएका डीआईजीत्रय परेका हुन् ।
बुधबार अवकाश पाएका धिताल त्यस्ता अभागी डीआईजी भएका छन्, जसले बाहिनी चलाउने अवसरसमेत पाएनन् । बढुवा भएको केही दिनमै उनलाई तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त निलम्बनमा परेको केही दिनपछि अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।
डीआईजीमा बढुवा भएलगत्तै सशस्त्र प्रहरीभित्रको घोटाला प्रकरणमा उनलाई छानबिन गर्ने जिम्मेवारी दिइएका थियो । उनी नेतृत्वको समितिले भ्रष्टाचार नभएको प्रतिवेदन दिएकाले सोही भ्रष्टाचारसम्बन्धी मुद्दामा अख्तियारले अनुसन्धान गर्दा धेरै गल्ती र अनियमितता भेटेको भन्दै उनलाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।
उनले ६ महिनाअघि मात्र विशेष अदालतबाट सफाइ पाएका थिए । सशस्त्रमा केही दिनअघि मात्रै डीआईजीत्रय रामप्रकाश श्रेष्ठ, वसन्त बानियाँ र राजुराम सुवालले अवकाश पाएका थिए ।
रिक्त दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र अधिकारी, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।
अबको केही दिनमा सशस्त्रमा अन्य केही अधिकारी पनि घर जाँदै छन् । २८ माघमा एसएसपीद्वय दमन थापा र फणीन्द्र पौडेल, एसपीहरू राजु महर्जन, रत्न पोखरेल, सुवर्ण थापामगरलगायत पनि अवकाश हुँदै छन् । उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया