शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चितवनमा प्रचण्ड ‘बदनामी’को एउटा कारण एसपी मल्ल

दैनिक नेपाल २०७६ पुष १६ गते १४:१२

काठमाडौं, १६ पुस । ४ पुसमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक (एसपी)हरूको सरुवा गर्यो । सबै सरुवा भएका एसपीले जिम्मेवारीअनुसार काम गर्न थाले । तर चितवन जिल्लाका एसपी दानबहादुर मल्लले भने पाएको जिम्मेवारी लिएका छैनन् भने आफ्ना ठाउँमा सिफारिस गरिएकी एसपी गंगा पन्तलाई हाजिर हुन दिएका छैनन् ।

यहि विषयलाई राजनीतिक व्यक्तिको छविसँग जोडेर प्रचारप्रसार गर्न थालिएको छ । खासगरी चितवन परिवर्तनका लागि योगदान गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मल्लको नाम जोडी प्रचार हुन थालेको छ ।

डिएसपी हुँदा प्रचण्डको सुरक्षामा खटिएको भन्दै मल्लले चितवन नछाड्नुमा प्रचण्डको दबाब रहेको भन्ने सन्देश जान थालेको छ । यति मात्र होइन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पनि दबाब रहेको भन्ने अर्कोप्रकारको प्रचारलाई तिव्रता दिइएको छ ।

यस्ता हल्ला र प्रचारबाजीमा प्रचण्डको राजनीतिक बदनामीको विख्यात कारण बनिरहेका छन्– एसपी मल्ल ।

यति मात्र होइन, चितवनमा हुने हरप्रकारका घटनाक्रममा एसपी मल्ललाई जोड्दै प्रचण्डमाथि प्रहार गर्न थालिएको छ ।

ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनका क्रममा भएको आक्रमणमा एसपी मल्लले कुनै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भयो । शाहीले त प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर दाहालको योजनामा नै मल्लले सुरक्षामा कुनै चासो नदेखाएको भन्ने आरोप लागेको थियो ।

प्रचण्डलाई राज्यले दिएको सुरक्षाका क्रममा डिएसपी हुँदा मल्लको एउटा कमान्ड थियो । सोही विषयलाई आधार बनाएर प्रचण्डको राजनीतिक चरित्र हत्याको प्रयत्न भइरहेको छ । गणतन्त्रविरोधी, प्रतिपक्षी र अन्य विविध पक्षले प्रचण्ड र मेयर दाहालको राजनीतिक चरित्रहत्याको प्रमुख हतियार एसपी मल्ललाई बनाएका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालयमा जिम्मेवारी पाएका एसपी मल्लले अटेर गरी जिल्ला नछाड्नुको कारणमा पनि जबर्जस्त हिसाबले प्रचण्डलाई दोष लगाउन थालिएको छ ।

‘प्रहरीको आफ्नो नियम कानुन र पद्दती हुन्छ । प्रचण्डजस्तो राजनीतिक नेताले एउटा एसपीका हकमा ध्यान दिने फुर्सद हुन्न, मल्लको सांगठनिक समस्या वा विषय के हो त्यो उनलाई नै थाहा होला’, खुमलटार स्रोतले भन्यो,‘यस्तो साधारण र नचाहिने विषयलाई शक्तिशाली पार्टीका अध्यक्षसँग जोडेर बद्नामी गराउनु गलत हो ।’

त्यसो त एसपी मल्लकै कारणले प्रचण्डको चितवन बनाउने सपनासँग अरुले खेल्न पाएका छन् । सञ्चारकर्मी रवि लामिछाने पक्राउ प्रकरणपछि भएको प्रदर्शनका क्रममा एसपी मल्लको रवैयासँग पनि प्रचण्डको नाम जोडियो ।

‘प्रचण्डको सुरक्षा कमान्डमा प्रहरीले विभिन्न डिएसपीलाई फेरेर पठाउँछ । त्यो लिगेसीको उपयोग गरेर कसले कहाँ कस्तो सरुवा पाउँछ त्यसलाई खुमलटारसँग जोड्न मिल्दैन’, नेकपा स्रोतले भन्यो,‘प्रहरीमा प्रचण्डको विषय त्यसबेला जोडिन्छ जब त्यसका प्रमुख नियुक्तिको विषय आउँदा उनी सरकारमा प्रधानमन्त्री हुन्छन् । सरकार र त्यसका अंगबारे खासै चासो नदेखाएको बेला एउटा डिएसपी वा एसपीको सरुवाको विषय प्रचण्डसँग कसरी जोडिन्छ ?’

कतिपयले चुनावी रणनीतिमा जीत निकाल्नका लागि पनि मल्ललाई चितवनमा राखिएको भनी प्रचण्डमाथि आक्षेप लगाइरहेका छन् । स्रोतले भन्यो,‘त्यसो हुने भए त्यहि एसपीलाई जीन्दगीभरी जागिरमा रहने व्यवस्था पनि प्रचण्डले गर्लान् नि ? संगठनको नियमकानुनअनुसार को कहाँ कति मिति बस्छन् भन्ने उनीहरूको आफ्नै नियम कानुन ऐन होला नि ? नचाहिँदो प्रचार भइरहेको छ ।’

चितवन–३ का प्रतिनिधि सभा सदस्य समेत रहेका प्रचण्डले राजनीतिक विरासतलाई बलियो बनाउनका लागि निक्कै मिहेनत गरीरहेका छन् ।

साना भन्दा साना कार्यक्रमदेखि सर्वसाधारणका समस्या सुल्झाउन भगीरथ लागिरहेका प्रचण्डको छवि धुमिल बनाउन अन्य कारण नपाएपछि एसपी मल्लको अटेरपनालाई खरो कारण बनाउन थालिएको नेकपाका नेताहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित