बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कनोडियाको ‘काण्ड’, कांग्रेसले छाडिदियो साथ

दैनिक नेपाल २०७६ पुष १६ गते १०:१४

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले उखु किसानको रकम नदिएर दुःख दिने आफ्नै प्रदेश सांसद वीरेन्द्र कनोडियालाई गैरजिम्मेवार नबन्न निर्देशन दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सांसद समेत रहेका आफ्नै पार्टीका नेता कनोडियाका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन् ।

नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा किसानको रकम नदिने जो कोही राजनीतिक दलको भएपनि कांग्रेसले संरक्षण नगर्ने शर्माले बताए ।

‘प्रदेश ५ को संसदीय दलको उपनेता वीरन्द्र कनोडियाले उखु किसानलाई रकम नदिएको विषयमा सञ्चारमाध्यमहरूबाट हामीले जानकारी पाएका छौँ’, उनले भने, ‘जानकारी पाएपछि पार्टी चुप लागेर बसेको छैन । उहाँलाई सम्पर्क गरेर के निर्देशन दिनुपर्ने हो दिएका छौँ ।’

कनोडिया महालक्ष्मी सुगर मिलका सञ्चालक हुन् । यसअघि उनले यो मिललाई कपिलवस्तुको चन्द्रौटा–कृष्णानगर करिडोरमा राखेका थिए । कपिलवस्तुका थुप्रै किसानलाई पनि कनोडियाले उखुको रकम तिर्न बाँकी छ ।

कपिलवस्तुका उखु किसानलाई पैसा नदिएपछि उनलाई नेपाली कांग्रेसको राजनीति गर्न समस्या भएको थियो । त्यसपछि उनले महालक्ष्मी सुगर मिललाई सर्लाही सारेका हुन् ।

उता, गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक एवम् कांग्रेसका प्रदेश संसदीय दलका उपनेता कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन् ।

आपूर्तिमन्त्री लेखराज भट्टलाई मंगलबार भेटेर कनोडियाले १० दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन् ।

कनोडियाले किसानलाई भुक्तानी दिन २१ करोड रूपियाँ बाँकी छ । मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित बनाउने व्यापारी पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

कनोडिया मन्त्रालय आएर पैसा तिर्ने कबुल गरेको मन्त्री भट्टले बताएका छन् । ‘उहाँ आएर २५ गतेभित्रमा सबै पैसा भुक्तानी गर्ने बचन दिएर चिठी लिई फर्किनुभएको छ’, मन्त्री भट्टले पत्रकारहरूलाई भनेका छन्, ‘२५ गतेभित्र भुक्तानी नभए कानून बमोजिम कारबाही प्रक्रियामा जान्छौं ।’

प्रतिक्रिया
सम्बन्धित