५ कार्तिक २०८३, बिहिबार

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १६ पुस । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्।

अनुसन्धान तथा विकासको चरण पार गरी प्रयोगशालामा परीक्षणसमेत सकिएपछि उक्त जैविक विधिबाट तयार उत्पादित सामग्रीको सफल परीक्षणमेत भइसकेको उनीहरूले बताएका छन्। ती सामग्रीको परीक्षण जो किसानका बालीउपर गरिएको थियो, तिनले सन्तोषजनक नतिजा देखिएको जनाएपछि अनुसन्धानकर्ताहरू हौसिएका छन्।

अमेरिका, दक्षिण अफ्रिकापछि एसियाली मुलुकहरूमा फैलिएको फौजी कीरालाई पछिल्लो समय बालीनालीका लागि सबभन्दा ठूलो शत्रुका रूपमा लिइएको छ। यस कीरामा विषादीको प्रयोगसमेत प्रभावहीन देखिँदै आएको छ।

यस कीरालाई अन्न संकटको कारकका रूपमा हेरिँदै आएका बेला नेपालले यसको समाधान दिन सके देशका लागि गर्वको विषय हुने जैविक प्रविधि केन्द्रीय विभागका वरिष्ठ वैज्ञानिक प्रमोद अर्याल बताउँछन्। उनकै निर्देशनमा अनुसन्धानकर्ताहरू सक्रिय हुँदै आएका छन्। उनले आउँदो वर्ष नेपालमा फौजी कीरा नदेखिनेसमेत दाबी गरे।

नेपालबाट रासायनिक मल र विषादी हटाउँदै लैजाने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको भए पनि अनुसन्धानकर्ताले तयार गरेको जैविक मल फौजी कीरा नियन्त्रणमा पनि प्रभावकारी देखिएको आर्यालले बताए। ‘त्यसपछि थप अनुसन्धान गरेर एक किसिमको जैविक विषादीसमेतको विकास गरिएको छ,’ अर्यालले भने, ‘सिरोमोनासमा, ताइवान, स्विटजरल्यान्ड र दक्षिण कोरियाका बेग्लाबेग्लै अनुसन्धानकर्ता समूहले फौजी कीरा नियन्त्रणका लागि जैविक विधि प्रयोगका लागि अनुसन्धान गरिरहेका छन्। उनीहरूभन्दा अगाडि हामीले यसमा सफलता पाएका छौं। आधारभूत वैज्ञानिक अध्ययनपछि जैविक विषादीको उत्पादन नै थालिसकेका छौं।’

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित अल्फाएग्रो भन्ने कम्पनीले अनुसन्धानकर्ताहरूको सहकार्यमा जैविक विषादीको उत्पादनै सुरु गरिसकेको छ। अर्यालका अनुसार यस उत्पादनले एकातिर जैविक मलको काम गर्नेछ भने अर्कोतिर जैविक विषादीका रूपमा समेत फौजी कीरालाई नियन्त्रण गर्नेछ। यसको प्रयोगले रासायनिक मल तथा विषादीलाई विस्थापित गर्ने अनुसन्धानकर्ताहरू बताउँछन्। नागरिक दैनिकले खबर छापेकाे छ ।