काठमाडौं, १५ पुस । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं भेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ । मंगलबार दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्ने छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान पर्व ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
तमूल्होसारका अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन् ।
यसै उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।











प्रतिक्रिया