५ कार्तिक २०८३, बिहिबार

वामदेव गौतमको गुनासो– मलाई चुनाव हराउने पुरस्कृत भए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ पुस । नेकपाका नेता वामदेव गौतमले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन अन्तर्घात गर्नेलाई पार्टीले प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएका छन्।

स्थायी कमिटी सदस्यले संविधान संशोधनका विषयमा राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले संविधान संशोधन गर्दा निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा छलफलमै रहेको र यही गर्ने कुनै निष्कर्षमा पुग्ने गरी छलफल नचलेको बताएपछि गौतम बीचमै उठेर बोलेका थिए।

उनले आफ्नो चुनावी पराजयदेखि राष्ट्रियसभा निर्वाचनमा जान पार्टीका दुवै अध्यक्षले राखेको प्रस्तावसम्मको फेहरिस्त बैठकमा सुनाएका थिए। ‘मलाई निर्वाचनमा अन्तर्घात गरेर हराइएको हो।

यो विषयमा मैले तत्कालीन एमालेमै पनि कुरा उठाएको हुँ। त्यसपछि पनि उठाइरहेको छु। माओवादीले भोट दिएन, एमालेभित्र पनि हराउन केही लागे’, उनले भने, ‘जो मलाई हराउन हिँडेको थियो उसैलाई अहिले पार्टीले प्रमोसन गरेको छ। यसले मलाई अन्याय भयो।’

उनले राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले जान प्रस्ताव गरेको पनि सुनाए। ‘मलाई राष्ट्रियसभामा जान दुवै अध्यक्षले प्रस्ताव गर्नुभयो। यहाँ अनेक हल्ला चलाइयो। कहिले डोल्पामा उठ्ने, कहिले कहाँ, काठमाडौंमा रामवीरले छाड्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले चलखेल गर्‍योसम्म भनियो। अहिले राष्ट्रियसभामा जान प्रस्ताव पनि आयो। लाने भए संविधान संशोधन गरेर लैजानू भनेर मैले प्रधानमन्त्रीलाई भनेकै हो’, उनले भने, ‘म संसद्मा जाने भनेको प्रधानमन्त्री हुनका लागि हो। संघीय संसद्को जो पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भनेर मैले भनेकै हो। यो मेरो लागि भनिएको होइन। यो मेरो लागि भनेको भनेर बुझियो भने गलत हुन्छ। अहिले विभेद छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका बीचमा। त्यो भेदको अन्त्य गर्न मैले भनेको हो। संविधान संशोधनका बेला यो पनि एउटा प्रस्ताव बन्नुपर्छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।