५ कार्तिक २०८३, बिहिबार

विधान पारित गराउँदा गज्याङगुजुङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ पुस । नेकपाका महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पारित गर्न आग्रह गर्दा केही बेर होहल्लै चलेको थियो। ‘बोल्ने नेताहरूको बाढी चल्यो। को उठेर बोल्दै छ, केही थाहा नहुने, सबै आआफ्ना ढंगले बोल्न थाले। एकछिन गाईजात्रै देखियो’, एक स्थायी समिति सदस्यले भने, ‘एकाध नेताहरूबाहेक कसले के बोले, भेउ पाउन सकिएन।’

विधानका विषय अनुमोदन प्रस्ताव आएपछि वामदेव गौतम, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाललगायत नेता बोले। गौतमले विधान संशोधनमा ल्याएका केही विषयमा नेतृत्वको ध्यानाकर्षण गराए। ‘पार्टी कमिटीमा जति सदस्य छन् उनीहरूलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे विधान प्रस्ट बोल्नुपर्‍यो। आयोग र विभागहरूमा बस्नेहरू पार्टी सदस्य नै हुन्छन्’, उनले भने, ‘उनीहरूलाई विधानमा कमिटीका रूपमा मान्ने कि नमान्ने ? ७ लाख पार्टी सदस्यलाई नै पार्टीमा कमिटेड गर्ने कसरी ? यसमा पनि प्रस्ट व्यवस्था हुनुपर्‍यो।’

शाक्यले नेतृ पम्फा भुसाल र आफूले राखेको प्रस्ताव पारित गर्न नसकिने कारण खोजी गरेकी थिइन्। उनीहरूले सचिवालय दुई महिलासहित १५ सदस्यीय बनाउन, स्थायी समितिमा पनि महिला प्रतिनिधित्व बढाउन माग राख्दै विधानमा फर मत दर्ता गराएका थिए।

दाहालले सबै सुझाव ग्रहण गर्ने बताएका थिए। सबै सुझाव र धारणाका आधारमा अन्तिम रूप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित गर्ने उनको भनाइ थियो। त्यसपछि विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको थियो।

गौतमलाई उपाध्यक्ष बनाउनेलगायत विषय समेटी सचिवालयले विधान संशोधन प्रस्ताव ल्याएको थियो। अब स्थायी कमिटी सदस्यका सुझाव समेटी केन्द्रीय कमिटीमा विधान संशोधन प्रस्ताव जानेछ। त्यहाँबाट पारित भएपछि गौतम उपाध्यक्ष बन्नेछन्। अध्यक्ष नभएका बेला अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने, अध्यक्षलाई सघाउने र केन्द्रीय कमिटीले तोकेका अन्य कार्य गर्ने गरी गौतमले अधिकार प्राप्त गर्नेछन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।