राजविराज, ३० मंसिर । सप्तरी जिल्लामा रक्सीले मातेर आएका पतिले कुटपिट गर्दै गरेका छोरालाई जोगाउन खोज्दा एक महिला निर्घात कुटिएकी छिन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षीया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएकी हुन् ।
आँखा, अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेका उनलाई आइतबार उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएको छ । पत्नीलाई यातना दिने राजकुमार भने फरार छन् । उनको खोजी कार्य भइरहेको डिएसपी तिलक भारतीले बताए ।
शनिबार मध्यराति अत्याधिक मदिरा सेवन गरि आएका पति राजकुमारले सुरुमा नाबालक छोरालाई कुट्न थाल्नेका थिए । उपचारका क्रममा अस्पतालको शैया नं. २२ मा भर्ना भएकी मन्जुले भनिन्, ‘रोक्न खोज्दा छोरालाई छाडेर मलाई नै कुट्न सुरु गर्नुभो ।’
‘दैनिक मदिरा सेवन गरेर आउने पती राजकुमारलाई सम्झाउन खोज्दा यसअघि पनि पटक पटक लठ्ठी र मुडकीले पिट्नु हुन्थ्यो, यसपाली त ज्यानै लिने गरि आक्रमण गर्नुभो’, उनले रुदै सुनाइन् ।
गाउँलेहरूले राजकुमार जड्याहाका साथै सन्काहा, शंकालु र अपराधिक मनोबृतीको भएको बताउँदै उनलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।











प्रतिक्रिया