५ कार्तिक २०८३, बिहिबार

सम्पत्ति शुद्धिकरण लगाएर कस–कसलाई सिध्याउने तयारी हुँदैछ ?

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । राष्ट्र बैंकको आगामी गभर्नरको दौडका प्रमुख रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण लगाएर छानबिन समिति गठन गरियो ।

छानबिन समितिले प्रतिवेदन तयार पारी बुझाएको छ । तर, सम्पत्ति शुद्धिकरणको सिफारिसका आधारमा श्रेष्ठमाथि छानबिन गरिएको भनिए पनि समितिको प्रतिवेदनमा त्यस आरोपबारे कुनै पनि छानबिन गरिएकोबारे उल्लेख छैन । बरु, विभागले लगाएको अभियोगको आधार र अनुसन्धान उसैले गर्नुपर्छ भन्ने उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहि विषयमा गलत ब्रिफिङ पनि गरिएको छ । विभाग प्रधानमन्त्री कार्यालयको माथाहतमा छ ।

श्रेष्ठमाथि लगाइएको आरोपको आन्तरिक षडयन्त्र भने अर्कै रहेको फेला परेको छ । श्रेष्ठमात्र होइन, उनीसहित अर्थ मन्त्रालयका सचिव राजन खनाल, मुख्यसचिव लोकदर्शन रेग्मी, लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी र डा. मिनबहादुर श्रेष्ठलाई पनि सम्पत्ति शुद्धिकरणको भुङ्ग्रोले सेक्ने तयारी भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गौशालामा रहेको पशुपति भिजनस्थित होटलमा यस्तो योजना बनाउनेमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईलगायतका रहेका छन् ।

‘विहान चिया पिउने बाहनामा र बेलुका डिनर गर्ने योजनामा यस्तो षडयन्त्र बनिरहेको छ’, स्रोतले भन्यो,‘यसमा अन्य व्यक्तिको पनि सहभागीता र समन्वय रहेको छ ।’

खासगरी सम्पत्ति शुद्धिकरण विभागबाट बलियोगरी अभियोग लगाउन सकिने र कारबाही गर्न सकिने भएकाले भट्टराईको प्रयोग भइरहेको हो । यस्तो योजना बनाउनेमा देवकुमार ढकाल, नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशकहरू निर्मल कार्की विष्णु खनाललगायत पनि सरिक रहेको उच्च स्रोतको दाबी छ ।

‘नयाँ गभर्नरमा सिवाकोटीलाई ल्याउनका लागि प्रशासनिक हिसाबले अबरोध बन्ने सबैलाई कारबाहीको दायरामा ल्याउने, छानबिनमा अड्काउने र उता मन्त्रिपरिषद्बाट निर्णय गराउने सल्लाह भएको छ’, स्रोतले भन्यो,‘राजनीतिक रुपमा कांग्रेसनिकट रहेको भनी प्रधानमन्त्री ओलीलगायतलाई ब्रिफिङ गर्ने तयारी भएको छ ।’

यता डेपुटी गभर्नर श्रेष्ठबारे राष्ट्र बैंक सञ्चालक समितिको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा पनि सिवाकोटीलगायतको प्रभाव रहेको छ । समितिका एक सदस्य डा. सुवोधकुमार कर्णलाई प्रभावमा पारी बाहिर बाहिरै सिवाकोटी अनुकुलतामा प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाइएको स्रोतले जनाएको छ ।

जबकि, छानबिन समिति आफैं विवादमा तानिएको भन्दै त्यसका एक जना सदस्यले राजीनामा गरिसकेका थिए ।