५ कार्तिक २०८३, बिहिबार

सिजनको पहिलो हिमपात

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, २८ मंसिर । लगातार हिउँ पर्दा गण्डकी प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा बिहीबारदेखि नै हिमपात भइरहेको छ।

बिहीबार बिहान हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको छ। मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ।

हिमपात यो सिजनको पहिलो हो। हिमपातले किसान खुसी भए पनि चिसो बढेकोले जनजीवन भने प्रभावित भएको छ। पर्यटकीय क्षेत्र मनाङ र मुस्ताङमा हिमपातले पर्यटन गतिविधि ठप्प भएको छ। गाडी चलाउनसमेत समस्या भएको छ। मनाङमा धारापानीसम्म मात्र गाडि चलेका छन्। मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ।

चिसो बढेपछि स्थानीय घरबाहिर निस्कनसमेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्मे छन्। मनाङका प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार सदरमुकाम चामेमा चार सेन्टिमिटर र केही माथिको हुम्देमा आठ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ।

अन्नपूर्ण फेरोको पदमार्ग पर्ने मनाङमा पर्यटक पनि हिँडडुल गर्न सकेका छैनन। कार्कीका अनुसार पर्यटकलाई थोराङला भञ्ज्याङ पार गर्न र तिलिचो ताल जान रोक लगाइएको छ। ‘माइनस ६ डिग्रीमा तापक्रम झरेको छ। सबैतिर आउजाउ ठप्प छ,’ उनले भने, ‘हिमपातले किसान खुसी छन। तर चिसोको कारण जनजीवनमा प्रभाव परेको छ। पर्यटन गतिविधि पनि ठप्प छ। हिउँले बाटो चिप्लो भएकाले गाडी चलाउनसमेत मुस्किल भएको उनले बताए।

‘कतैकतै त पानी नै जम्ने अवस्था छ। चिसोका कारण सदरमुकाम चामेसमेत सुनसान जस्तै भएको छ,’ उनले भने, ‘स्थानीयवासी घरभित्रै आगो बालेर बसेका छन्। चिसोले बूढाबूढी र बालबालिका बढी प्रभावित भएका छन्।’ उनका अनुसार योपटक मनाङमा परेको हिमपात सिजनकै पहिलो हो। ३२ सय मिटरभन्दा माथि झनै बढी हिमपात भएको उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।