
काठमाडौं, २६ मंसिर । सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम सक्नासाथ ०६३ मा भएको तत्कालिन विद्रोही माओवादी र सरकारबीचको शान्ति सम्झौताको कागजको औचित्य समाप्त हुन्छ ।
त्यो औचित्य समाप्त पार्ने काममा जुटेका छन् प्रचण्ड । जो त्यस कागजमा विद्रोहीका तर्फबाट हस्ताक्षर गर्ने मध्येका एक हुन् ।
गणतन्त्रका निम्ति १७ औं हजारले सहादत प्राप्त गरेपछि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रचण्ड जीवित दस्तावेज हुन् । प्रचण्डले विविध मञ्चमा भन्ने गर्छन् कोइरालाले अन्तिम समयमा ‘देश तपाईको जिम्मा भयो’ भनेका थिए ।
कोइरालाको निधनपछि नेपालको राजनीति प्रचण्ड केन्द्रमा नै घुमिरहेको छ । हुन त संविधानसभाको पहिलो निर्वाचनको परिणामपछि नै नेपालको राजनीति प्रचण्ड कोर्टमा पुगेको थियो ।
उनै प्रचण्ड विहीबारदेखि ६६ बर्षको उमेरमा हिँडिरहेका छन् । अघिल्लो बर्षमात्र उनले भनेका थिए– अझै १० बर्ष सक्रिय राजनीति गर्ने मन छ । यसको अर्थ, यो दशक पनि राजनीति, सरकार र व्यवस्था प्रचण्ड केन्द्रमा नै घुम्नेछ ।
गणतन्त्र यता सरकारको प्रमुख बन्ने या बनाउने केन्द्रमा प्रचण्ड नै उभिएका छन् । उनले विविध मञ्चहरूमा भन्ने गर्छन्,‘प्रायः प्रधानमन्त्री मैले गर्दा प्रत्यक्ष वा परोक्ष हिसाबले बनेका छन् नेताहरू ।’
पहिलो संविधानसभामा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाललाई मनोनित गरेर संविधानसभामा ल्याएका प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल भएका थिए । त्यसपछि नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, केपी शर्मा ओली र शेरबहादुर देउवासम्मलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइरालाको कार्यकालमाचाहिँ प्रचण्ड प्रतिपक्षको भूमिकामा उभिए । तर, संविधान जारी गर्नका लागि उनको भूमिका रचनात्मक सहयोगीको हैसियतमा रहेको थियो ।
‘संविधानसभाको निर्वाचनपछि माओवादीको टुटफुटलाई जुटाउने र एकीकृत कम्युनिस्ट केन्द्र बनाउनका निम्ति निक्कै मिहेनत गर्ने राजनीतिज्ञ हुन् प्रचण्ड’, कम्युनिस्ट विश्लेषकहरू भन्छन्,‘कहिलेकाहीँ शक्ति केन्द्रमा बस्न रुचाउने भनेर आलोचना हुन्छ । तर प्रचण्डको विकल्प पनि देखिँदैन ।’
त्यसो त प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अघि बलियो कम्युनिस्ट पार्टी एमालेसँग गठबन्धन र पार्टी एकीकरणको सम्झौता गरेरै अघि बढ्न प्रचण्डले ठूलो प्रस्ताव गरेका थिए । जसको परिणाममा दुई पार्टीको गठबन्धनले दुई तिहाईको बहुमत ल्यायो र एकीकरणसम्म भयो ।
‘त्यसबेला प्रचण्डको यो प्रस्ताव नआएको भए वा एक्लाएक्लै लडेको भए मुलुकमा बलियो सरकार बन्ने थिएन’, एक नेता भन्छन्,‘त्यसैले हरेक निर्णयको पृष्ठभूमीमा कसको भूमिका बलियो छ भन्ने चिजलाई हेर्नुपर्छ ।’
दुई अध्यक्षात्मक प्रणालीको नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी मोर्चा सम्हालेका छन् भने अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार सम्हालेका छन् । ‘यो बुझाई र तरिकामा पनि प्रचण्डको भूमिका बलियो छ । यसमा अध्यक्ष ओलीको दृढता र दुवैको समझदारीले नेकपालाई बलियो बनाएको छ’, नेताहरू भन्छन् ।











प्रतिक्रिया