
काठमाडौं, २५ मंसिर । कोशी राजमार्ग अन्तर्गतको सडक विस्तारको कार्ययोजनाअनुसार ८२ फिटको सडक हुनुपर्छ । यहि प्रक्रियाका आधारमा सडक आयोजना कार्यालयले सडक विस्तारको काम थालेको थियो । तर यो मापदण्ड सडकमा पर्ने सहर र सहरी क्षेत्रमा घर भएका व्यक्तिको दबाबका कारण कार्यालयले कायम गर्न नसक्ने विवादास्पद काम गर्यो ।
सहरी क्षेत्रमा ६२ फिट मात्र सडक विस्तार गर्ने कार्यालयको योजना दिर्घकालिन विकासका नजरमा गलत हुने भन्दै युवाहरू डेलिगेशनमा छन् ।
समान मापदण्डको आधार तय पार्ने विषय इटहरी उपमहानगरपालिका क्षेत्रमा आएपछि उठ्यो । विकासका हिमायती रहेका सर्वपक्षीय युवाले संघर्ष समिति गठन गरी समान मापदण्डको माग गरे । तर, सहरी क्षेत्रमा गगनचुम्बी महल बनाएकाको दबाबमा सडक कार्यालय समान मापदण्ड कायम गर्न राजी देखिएन ।
यहाँसम्मकी स्थानीय सरकारको अधिनमा रहेको सहरी क्षेत्रको सडक कस्तो बनाउने भन्ने विषयमा कार्यालयले उपमहानगरपालिकासँग पनि समन्वय गरेन । एक सर्वसाधारण भन्छन्,‘सडक विस्तार कुनै कार्यालयको मनोपोली वा कुनै व्यक्तिको नीजि सम्पत्ति भएको आधार र दबाबमा हुँदैन ।’
अहिले इटहरीमा यो बहस तिव्र भइरहेको छ । संघर्ष समितिका संयोजक युवा नेता मदन चुडाल भन्छन्,‘हामी तत्कालिक विस्तारको कुरामा मात्र डेलिगेशन गरिरहेका छैनौं, यो दिर्घकालिन विकासको विषय हो । त्यसैले मुख्यमन्त्री शेरधन राईदेखि नगरपालिका र सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइरहेका छौं ।’
केही ‘लोभीपापी’ व्यक्तिको दबाबमा मापदण्ड मिच्ने प्रयास भइरहेको स्रोतले जनाएको छ । तर समान मापदण्ड नभएसम्म सडक विस्तारको काम अवैज्ञानिक हुने भन्दै संघर्ष समितिले सर्वपक्षीय छलफल र बहस चलाएको छ । चुडाल थप्छन्,‘यो समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नाराको एउटा चोइटो मान्नुपर्छ । अहिले वैज्ञानिक हिसाबले सडक विस्तारको काम भएन भने भावी दिनमा सहर कुरुप र भिडभाड देखिनेछ, बजार क्षेत्र साँघुरो हुनेछ ।’
सडक आयोजना कार्यालय नै गैरजिम्मेवार भएपछि संघर्ष समितिका सदस्यसहित सर्वसाधारणले मंगलबार एक घन्टा धर्ना दिए । कार्यालयले विकासका निम्ति समान मापदण्ड हुनुपर्ने र त्यसैले सहरको दिर्घकालिन मुहार बनाउन सक्छ भन्ने संघर्ष समितिका मागलाई त बेवास्ता गरेकै छ, सडक विस्तारको कागजातबारे जानकारी दिन इटहरी उपमहानगरपालिकाले पठाएको दुई पटकको पत्रको जवाफसम्म फर्काएको छैन ।

सर्वपक्षीय छलफलका क्रममा सडक विस्तारमा सहरी क्षेत्रमा कसैको नीजि सम्पत्ति भत्किने वा मिचिने भए त्यसको मुआब्जाका विषयमा पनि छलफल गरी काम अघि बढाउनुपर्ने धेरैको सुझाव छ । यो विकल्पप्रति तत्कालै बहसको वातावरणमा उभिन सम्बन्धित कार्यालय, घरधनी वा व्यापारिक प्रतिष्ठानका सञ्चालक किन राजी छैनन ?
संघर्ष समितिका संयोजक चुडाल जोड्छन्,‘हामी हरेक समस्याका विषयमा सर्वपक्षीय बहस भई समान मापदण्डमा राजी हुनुपर्छ भन्ने मान्यतामा छौं । त्यसका लागि जसको जति क्षति हुन्छ त्यसको जिम्मेवारी स्थानीय, प्रदेश वा संघीय सरकार कसले व्यहोर्ने हो त्यो पनि निर्णय गरेरै काम अघि बढोस् भन्ने पक्षमा छौं ।’
संघर्ष समितिले सहजताका साथ अघि बढ्नको अपिल गरिरहँदा आयोजना कार्यालयले साधारण छलफल समेत राख्ने चेष्टा गरेको छैन । कतिपयको आरोप छ कार्यालयका प्रमुख दबाब र प्रभावका आधारमा जवाफदेहिताबाट भागिरहेका छन् ।
संघर्ष समितिका संयोजक चुडाललगायतले सडक विस्तारको काम बुटवल, अत्तरिया, धनगढीलगायतका ठाउँमा भएको दिर्घकालिन सोचअनुसार समान मापदण्डमा हुनुपर्छ भन्ने मतमा छन् । तर स्थानीय सरकार, दलका प्रतिनिधिहरूले भने यस विषयमा खुलेर बोल्न सकेका छैनन् ।
‘हामी केहीले यो विषयमा छलफल गराइरहेका छौं । यसको भविष्यको लेखाजोखा र राम्रो नराम्रो भन्ने परिणामको खोजी आज गरिएन भने भोली हामी इटहरीवासीले नै दुख पाउने हो’, चुडाल जोड्छन्,‘त्यसैले समान मापदण्डका आधारमा नै सडक विस्तारको विषयको निरुपण होस् भन्ने खोजीनीतिमा जुटेका छौं ।’











प्रतिक्रिया