सिन्धुपाल्चोक, २५ मंसिर । विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो ।
घरमै लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ परेका उनलाई मंगलबार सिन्धुपाल्चोक जिल्ला अदालत उपस्थित बनाएर जरिवाना असुल गरी बाँकी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत विशेष सूचनाका आधारमा फैसला भएको तीन वर्षपछि फरार रहेका तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
विदेशी मुद्रा विनियम मुद्दामा अदालतले तामाङलाई एक महिना कैद सजाय र एक करोड ८६ लाख १४ हजार नौ सय ८९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
फैसलापछि उनी फरार रहँदै आएका थिए। जरिवाना रकम तिर्न नसके उनी थप १० वर्ष कैद बस्नुपर्ने अदालतले जनाएको थियो । जिल्ला अदालतले २०७३ वैशाख २२ गते तामाङविरुद्ध कैद र जरिवानाको फैसला सुनाएको थियो ।











प्रतिक्रिया