५ कार्तिक २०८३, बिहिबार

‘वैदिक ९९ प्रतिशत हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमप्रसाद वैदिक न्यायाधीश हुने सम्भावना न्यून रहेको बताएका छन्। आलोचनात्मक अवस्थामा न्यायाधीश नियुक्त हुन नसक्ने उनको भनाइ छ। ‘उहाँ (पदमप्रसाद वैदिक) न्यायाधीश बन्ने सम्भावना ९९ प्रतिशतै छैन’, उनले भने, ‘बरु अब कसलाई न्यायाधीश बनाउने हो, बसेर छलफल गरौं।’

सर्वाेच्च अदालतको न्यायाधीश हुने आकांक्षासहित वैदिकले परिषद् सदस्यबाट राजीनामा दिएका थिए। परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले नै केही दिनअघि परिषद् बैठकमा वैदिकको नाम प्रस्ताव गरेका थिए। तर, उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले असहमति जनाएपछि सिफारिस रोकिएको थियो। वैदिकका विषयमा नेपाल बार एसोसिएसनले पनि विरोध जनाउँदै आएको छ।

प्रधानन्यायाधीश जबराका अनुसार परिषद् बैठक बुधबार बस्दै छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा बारले बुटवलमा आयोजना गरेको राष्ट्रिय सम्मेलन तथा परिषद् बैठक उद्घाटनमा प्रधानन्यायाधीश जबराले न्यायालयलाई स्वतन्त्र बनाउन आफूले काम गरिरहेको बताए। उनले बारकै पदाधिकारीलाई परिषद् बैठकमा पर्यवेक्षकका रूपमा लैजान तयार रहेको बताए। ‘तपाईंहरू बैठकमा जान चाहनुहुन्छ भने पनि पर्यवेक्षकका रूपमा राख्न तयार छु’, उनले भने, ‘तर, व्यक्तिको गल्तीमा सिंगो न्यायालयमाथि लान्छना नलगाउनुहोस्।’

आफू बारभन्दा पृथक् नहुने उनले बताए। उनले बार पदाधिकारीलाई न्यायालयविरुद्ध जथाभाबी बोल्नु निन्दनीय रहेको धारणा व्यक्त गरे। व्यक्ति किटान गरेर आरोप लगाउन उनले आग्रह गरे। आफूले कार्यभार सम्हालेको ११ महिनामा न्यायालयलाई स्वतन्त्र बनाउन कोसिस गरिरहेको उनले बताए।

‘न्यायाधीशलाई फैसला र आदेशले साथ दिने हो’, उनले भने, ‘त्यो गलत भयो भने कसैले सहयोग गर्दैन।’ न्यायसम्पादनमा कसैसँग कानेखुसी र फोनमा कुरा नगर्न उनले न्यायाधीशलाई निर्देशन दिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।