काठमाडौं, २५ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापन हुने दिन मंगलबार बिहान नेपाल प्रहरीले सुरक्षाका नाममा ज्यादती गरेको छ। काठमाडौंका तीनवटा वृत्तका डिएसपीले सर्वसाधारण र पत्रकारमाथि लाठी र मुक्का प्रहार गरेका छन्।
कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवर, सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर र बालाजु वृत्तका डिएसपी बालनरसिंह राणाले खेलकुद प्रतियोगिता हेर्न उपस्थित दर्शकलाई कुटपिट गरेका थिए। त्यो दृश्यको तस्बिर खिचेको निहुँमा डिएसपी राठौरले नागरिक दैनिकका सुमन चापागाईलाई मुक्का र लात्तो प्रहार गरी घाइते बनाए। राठौरको मुक्काले चापागाईंको कानबाट रगत आएको थियो। उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
डिएसपी कुँवरले नेपाल र भुटानबीच हुन लागेको फुटबलको फाइनल खेल हेर्न टिकट किन्न आएका दर्शकमाथि लाठी र लात्ती प्रहार गर्नुका साथै लछारपछार गरेका थिए। त्यसको तस्बिर खिच्दा डिएसपी राठौरले पत्रकार चापागाईमाथि मुक्का प्रहार गरेका थिए। प्रहरी ज्यादतीको रंगशालाभित्रै विरोध भएको थियो।
प्यारापिटमै ठाउँठाउँमा ‘प्रहरी दमन बन्द गर’ भनी लेखिएका काला रङका कपडा फहराइएका थिए। ‘साग इज नट पुलिस परेड’ भन्दै प्रहरीको विरोध भएको थियो। कुटपिटको विरोधमा नेपाली पत्रकारका साथै श्रीलंका, बंगलादेशलगायतका मुलुकका पत्रकारले पनि फाइनल खेल बहिष्कार गरेका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया