काठमाडाैं, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका बाँकी काम पूरा गर्न जनपरिचालनसहितका कार्ययोजनामा ल्याउने भएको छ ।
सोमबार काठमाडाैंमा बस्ने नेकपाकाे सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कार्ययोजना पेस गर्न लागेका छन् । कार्यकारी अध्यक्ष भएपछि दाहालले कार्ययाेजना पेस गर्न लागेका हुन् ।
अध्यक्ष प्रचण्डले बैठकका एजेन्डा र समसामायिक राजनीतिक परिस्थितिका सन्दर्भमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग आइतबार बालुवाटारमा दुई घन्टा छलफल गरेका थिए ।
आगामी कार्ययोजनासम्बन्धी प्रस्तावबारे दाहालले ओलीसँग परामर्श गरेका हुन् । कार्ययोजना तयारीकै लागि दाहालले माधवकुमार नेपाल, विष्णु पौडेल, ईश्वर पोखरेल र वामदेव गौतमसँग पनि छलफल गरेका छन् ।
आइतबार उनले महासचिव पौडेलसँग छुट्टै छलफल गरेका थिए ।
बालुवाटारमा भएको दुई अध्यक्षबीचको बैठक तयारी छलफलमा महासचिव पौडेल पनि सहभागी थिए । पौडेलले दुई अध्यक्षको परामर्शपछि बैठकका लागि एकताको बाँकी कामको एजेन्डा तय भएको बताए ।
बैठकमा समीक्षा प्रतिवेदनसहित केन्द्रीय विभागहरूको पूर्णता, स्थायी समितिको बैठकलगायतका प्रस्तावमा पनि छलफल हुने नेताहरूको भनाइ छ ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले विभागका तर्फबाट पार्टी नेता–कार्यकर्ताहरूका लागि चार तहको स्कुल (प्रशिक्षण) सञ्चालन गर्ने तात्कालीक कार्ययोजना पेस गर्दै छन् ।











प्रतिक्रिया