
काठमाडौं, १९ मंसिर । जलवायु परिवर्तनको प्रभाव विश्व जनमानसमा स्मरण गराउनका निम्ति एक दशकअघि सगरमाथाबेसी कालापत्थरमा बसेको नेपाल सरकारको बैठकका एजेन्डा स्मरण गराउन इटहरीमा संघीय सांसददेखि सगरमाथा आरोहीसम्मले विहीबार प्रतिकात्मक व्रत बसेका छन् ।
संघीय सांसद तथा पूर्व कृषिराज्यमन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही तथा नेकपाका युवा नेताद्वय शिव डाँगी र मदन चुडाललगायतका सामाजिक अभियन्ताले मुखमा मास्क लगाएर तालतलैया क्षेत्रमा प्रतिकात्मक मौन व्रत बसेका हुन् ।
नयाँ शैलीमा राज्यलाई झक्झक्याउने यो ब्रत १२ घन्टासम्म चल्ने नेकपा नेता तथा पूर्व सभासद् सन्तोष थारुले बताए । ‘यो व्रत कालापत्थर बैठक र माल्दिभ्समा समुद्रमुनी बसेको मन्त्रिपरिषद्का बैठकको एजेन्डा स्मरण गराउनका लागि हो’, थारुले भने,‘उहाँहरूले १२ घन्टामा व्रत तोड्नुहुनेछ ।’

बिहान ६ बजे बाट सुरु उनीहरुको मौन व्रत साँझ ६ बजेसम्म हुनेछ । ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिइएको छ । ईटहरीको संगीत चौक बाट तालतलैया सम्म पौने घन्टा पैदल यात्रापछि मौन व्रत सुरु भएको थियो ।
पैदल यात्रामा प्रदेश सांसद सर्वध्वज साँवा, ईटहरीकी उपमेयर लक्ष्मी गौतमलगायतको सहभागीता थियो । माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला जलवायु परिवर्तनको समस्यासँग लड्ने उपायका लागि विश्व समुदायलाई झकझक्याउँदै १९ मंसिर, ०६६ मा कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । ५२४२ मिटरको उचाईमा २० मिनेट कालापत्थर बैठक भएको थियो । बैठकले जलवायु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा संकट आएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।
विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिषद् बैठक गरेर नेपालले ०६६ को २ मंसिरदेखि ३ पुससम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलन अगाडि विश्वको ध्यान तानेका थिए ।
नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशक पछि पुनः त्यो मुद्दा सम्झाउन मौन व्रत कार्यक्रम गरिएको कार्यक्रमका सचिव सुनील कार्कीले बताए ।











प्रतिक्रिया