काठमाडौं, १७ मंसिर । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवैलाई अझै सुध्रिएर अघि बढ्न जनताले अभिमत प्रकट गरेको देखाएको छ।
सत्तारुढ र प्रतिपक्षीले उपनिर्वाचनलाई एकअर्काविरुद्धको मिनी जनमत संग्रहका रुपमा व्याख्या गरे पनि मतपरिणाम दुवैका लागि अनुकूल नदेखिएको हो।
नेकपाले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिका प्रमुख पद गुमाउँदा प्रतिपक्षी कांग्रेसलाई केही राहत मिलेको छ।
तर कांग्रेसले भनेजस्तो केपी ओली सरकारको अलोकप्रियता प्रतिबिम्बित गर्ने मिनी जनमत संग्रहका रुपमा पनि निर्वाचन परिणाम आउन सकेन।
नेकपाले सरकारले जे गरेको छ त्यो राम्रो भइरहेको छ भन्ने दाबीलाई पनि निर्वाचन परिणामले अनुमोदन गरेन। यसरी दुवै दलका दाबीलाई मतदाताले गलत साबित गरिदिएका छन्।
उपनिर्वाचन परिणामले नेकपा र कांग्रेस दुवैको दाबीलाई पुष्टि नगरेको बताउँदै प्राध्यापक कृष्ण पोखरेलले भने, ‘उपनिर्वाचनलाई राष्ट्रिय मुद्दा र विषय बनाउन खोजिए पनि स्थानीय विषय र मुद्दा नै हाबी भयो।’
एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकामा कांग्रेसले जित निकाल्दा नेकपालाई नोक्सानी देखिएको सुनाउँदै उनले थपे, ‘समग्रमा दुवै दलको परिणाम पहिलाको जस्तै आएको छ। पहिलाकाले राम्रो गरेनन् अर्कोले राम्रो गर्छ कि हेरौं भन्ने मानसिकताले पनि काम गरेको देखियो।’ नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया