५ कार्तिक २०८३, बिहिबार

रूसमाथि अमेरिकी नाकाबन्दी हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेपाली सेनाले दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि ग्लोबल टेन्डर गर्ने भएको छ। दुई वर्षअघि नै सरकारले रूसबाट जीटुजी (सरकार-सरकार स्तरमा) कार्यक्रमअन्तर्गत दुई हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो।

अमेरिकाले रूसमाथि लगाएको आर्थिक नाकाबन्दीका कारण नेपाली सेनालाई त्यस बेला हेलिकप्टर भित्याउन सकस परेको थियो। रूसबाट तत्काल हेलिकप्टर ल्याउन नसकिएपछि सेनाले अहिले ग्लोबल टेन्डर प्रक्रियाबाट खरिद गर्ने तयारी गरेको हो।

रूसमाथि लागेको नाकाबन्दी खुलुन्जेल पर्खिनुभन्दा ग्लोबल टेन्डरमार्फत खरिद गरी छिटो र पारदर्शी ढंगले हेलिकप्टर ल्याउनुपर्ने नेपाली सेनाका उच्च अधिकारीका धारणा छ। रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारी ग्लोबल टेन्डर गरे रूसको नाकाबन्दी नलाग्ने, व्यापारीको अनावश्यक चलखेल रोकिने र पारदर्शी ढंगले हेलिकप्टर खरिद गर्न सकिने टुंगोमा पुगेको स्रोतले बताएको छ।

खरिदमा पारदर्शिता कायम गर्न पनि सबै सरोकार पक्ष ग्लोबल टेन्डर गर्नुपर्ने पक्षमा छन्। पहिल्यै निर्णय भइसकेकाले सरकारले हेलिकप्टर खरिद गर्न आवश्यक रकम निकासा गर्ने तयारी गरेको स्रोतले बतायो।

नेपाली सेनालाई विपद् व्यवस्थापन, तालिम र उद्धारका लागि तत्काल हेलिकप्टर आवश्यक छ। ‘भूकम्पजस्तो कुनै विपत्ति आइहाले नेपाली सेनासँग पर्याप्त हेलिकप्टर छैन’, रक्षा मन्त्रालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘तत्काल हेलिकप्टर खरिद गर्नुको विकल्प छैन। ग्लोबल टेन्डर आह्वान गर्नुपर्छ।’

हेलिकप्टर खरिद गर्न अब रूसलाई पर्खिन नहुने उनको भनाइ थियो। रक्षा मन्त्रालय र उच्च सैनिक अधिकारीहरूले अनावश्यक चलखेल रोक्न र पारदर्शी ढंगले हेलिकप्टर खरिद गर्न ग्लोबल टेन्डरमा जान आन्तरिक प्रक्रिया थालेको सैनिक स्रोतले जनाएको छ। ग्लोबल टेन्डरमार्फत हेलिकप्टर खरिद गर्न प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयका अधिकारीसमेत सकारात्मक देखिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।