५ कार्तिक २०८३, बिहिबार

रोगै छल्ने आत्मविश्वास, कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । सोमबार राति १ बजे प्रधानमन्त्री केपी ओलीलाई पेट दुख्यो। दुखाइ बढ्दै गयो। निको भइहाल्छ कि भन्दै उनी चुपचाप सहिरहे। पत्नी राधिका शाक्यलाई बिहान साढे चार बजेमात्र सुनाए। राधिकाले निधार र जिउ छामिन्। हल्का ज्वरो पनि रहेछ। सिटामोल खुवाइन्। दुखाइ अलि कम भयो। राधिकाले सोधिन्, ‘डाक्टरलाई बोलाउने कि ? ’ प्रधानमन्त्री ओली बोले, ‘यतिबेला डाक्टर साबलाई दुःख नदिऊँ।’

मंगलबार बिहान साढे आठ बजे निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले फोन गरिन्। ‘केही परीक्षण गर्नुपर्ने थियो। सम्झाउन फोन गरेकी थिएँ। फोन उठेन। म्यासेज पठाएँ। दाहिनेतिर दुखेको जस्तो छ भन्नुभयो’, शाहले भनिन्।

डा. शाह प्रधानमन्त्री निवास बालुवाटार पुगिन्। अवस्था हेरेपछि डा. शाहले एपेन्डिसाइटिसको शंका गरिन्। उनले आग्रह गरिन्, ‘जाऔं प्रधानमन्त्रीज्यू, अब भर्ना हुनुपर्छ।’ शाहको आग्रहलाई प्रधानमन्त्री ओलीले पन्छाउन खोजे। उनले भने, अल्ट्रासाउन्डको मान्छे बोलाउनुस्। यहीं हेरौंला। एन्टिबायोटिक्स चलाउनुपर्ने भए यही चलाऔं।’

डा. शाहले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीलाई फोन गरिन्। सायमीले २५ वर्षदेखि प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गर्दै आएका छन्। त्यस्तै डा. शाहले वरिष्ठ सर्जन प्रा.डा. रमेशसिंह भण्डारीलाई तयारी अवस्थामा रहन भनिन्।

प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा लैजाने कि निजी अस्पतालमा लैजाने भनेर फोनमा छलफल भयो। डा. सायमीले मनमोहन सेन्टरमा लैजान सल्लाह दिए। ओलीलाई बिहान ९ बजे मनमोहन सेन्टरमा लगियो।

मनमोहन सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारका लागि व्यवस्थापकीय प्रबन्ध मिलाए। त्रिवि शिक्षण अस्पतालका सर्जन डा. भण्डारी, डा. पलेश्वा जोशी लाखे, डा. सुनिता शल्यक्रियाका लागि आइहाले। एनेस्थेसिस्ट एवं क्रिटिकल केयरका डा. विश्वास प्रधान डा. सुवास आचार्य, डा. प्रवेशसुन्दर श्रेष्ठ, डा. विभु श्रेष्ठ, डा. हेम पनेरू तयारी अवस्थामा रहे।

ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका कारण शल्यक्रिया जटिल थियो। उनी मिर्गौलाको औषधि खाइरहेका छन्। मिर्गौलाको कार्यक्षमतामा पनि ह्रास आइरहेकाले चिकित्सक चिन्तित थिए। बीचबीचमा मिर्गौलाको डायलासिस गरिरहेको अवस्था थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।